सुदूर नेपाललाई विश्वसँग जोड्दै

धानको मूल्य तोकियो, खरिदको टुंगो छैन

कैलालीका किसानको पिरलो

२०७९ कार्तिक २६, ०९:०२ कमल सावद

धनगढीः कैलालीमा तीन लाख ५० हजार टन धान उत्पादन हुँदै आएको छ। जिल्लामा यो वर्ष वर्षाका कारण १० प्रतिशतले धानको उत्पादनमा कमि आएको अनुमान गरिएको छ। जिल्लामा यो वर्ष तीन लाख १५ हजार टन धान उत्पादन हुने अनुमान गरिएको हो।

तर तथ्याँक सङ्कलन भएको छैन। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्रले स्थानीय तहहरुलाई विवरण पठाउन भनेको छ। तर स्थानीय तहहरुले अझै विवरण पठाएका छैनन्। 

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले जिल्लाका स्थानीय तहहरुलाई विवरण पठाउन भनेको बताए। तर, नआएको उनको दाबी छ। यस्तै जिल्लामा उत्पादन भएको धान बिक्री वितरण सुरु भएका बेला सरकारी कार्यालयहरुसँग भने उत्पादीत धानको तथ्याँक नै छैन्। जिल्लामा उत्पादन भएको धान खरिद गर्दै आएको खाद्य व्यापार कम्पनीले पनि खरिदको प्रक्रिया सुरु गरेको छैन।

नेपाल सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेसँगै जिल्लाका किसानले धान बिक्री गर्न थालेका छन्। सरकारले धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ तोकेको छ। यो मूल्य पोहोरको तुलनामा २ सय १५ रुपैयाँ बढी हो। सरकारले मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकिएको छ। यो मूल्य गत वर्षको तुलनामा २ सय २६ रुपैयाँ बढी हो।

सरकारले गत आर्थिक वर्ष २०७८÷७९ को लागि मोटो धानको न्यूनतम समर्थन मूल्य २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो। सरकारले धानको मूल्य निर्धारण गरेपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिदको प्रक्रिया सुरु गरेको छैन।

मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका कारण समस्या हुने देखिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कार्मचारी निर्वाचनमा खटिने भएकाले धान खरिदमा समस्या हुने देखिएको हो। यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रवक्ता शर्मीला न्यौपानेले मन्त्रालयबाट औपचारीक पत्र नआएको बताइन्। मन्त्रालयबाट पत्र आएपछि कम्पनीले मातहतका कार्यालयहरुमा निर्देशन पठाउने उनले बताइन्। 

न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत् धान खरिद गर्न सरकारले ३३ करोड रकम  छुट्याएको छ। तर सरकारले न्यून मात्रामा धान खरिद गर्ने हुँदा किसान भने सस्तोमा स्थानीय व्यापारीलाई धान बिक्री गर्न बाध्य छन्। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस