टी-२० विश्वकपः इंग्ल्याण्ड फाइनलमा, भारतको लज्जास्पद हार
धनगढीः एलेक्स हेल्स र कप्तान जोस बटलरले शानदार ब्याटिङ गरेपछि भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड अष्ट्रेलियामा भइरहेको आईसी टी २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। एडिलेडमा भएको दोस्रो सेमिफाइनलमा भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना क्षती पूरा गरेको हो।
भारत विरुद्ध हेल्स र बटरको विष्फोटक ब्याटिङ गर्दा भारतीय बलरहरु पिका देखिएका थिए। इंग्ल्याण्डका लागि हेल्सले ४७ बल खेल्दै ४ चौका र ७ छक्का मद्तमा अविजित ८६ रन बनाए। यस्तै बटलरले ४९ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ८० रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले हार्दिक पाण्ड्या र विराट कोहलीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो।विष्फोटक ब्याटिङ गरेका हार्दिकले ३३ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरेर सर्वाधिक ६३ रन बनाए। कोहलीले ५० रन बनाउने क्रममा ४० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे।
कप्तान रोहित शर्माले १७ र सूर्यकुमार यादवले १४ रन जोडे । केएल राहुल ५ र ररिषव पन्त ६ रनमा आउट भए। इंग्ल्याण्ड क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा ४३ रन खर्चे। क्रिस वोक्स र आदिल रसिदले समान १ विकेट लिए।
इंग्ल्याण्डले अब उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ। पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराएको थियो। फाइनल खेल आउने आइतबार मेलवर्न क्रिकेट ग्राउण्डमा हुनेछ। सन् २०१० को च्याम्पियन इंग्लयाण्ड तेस्रो पटक टी २० विश्वकपको फाइनल प्रवेश गरेको हो। २०१६ को फाइनलमा भने इंग्ल्याण्ड वेष्ट इन्डिजसँग पराजित हँदै उपविजेता बनेको थियो।