भूकम्पमा घाइते भएकी बिष्ना भन्छिन्, ‘मेरो भन्नु कोही रहेन, मेरो त संसारै सकियो’
भारतबाट आएकै दिन पतिवियोग
धनगढीः मंगलबार राति डोटीको भूकम्पमा परि घाईते भएका दुई जनालाई धनगढी ल्याइएको छ। त्यहाँको जिल्ला अस्पतालले धनगढी रेफर गरेपछि यहाँ ल्याइएको हो। डोटीस्थित जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई बुधबार नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको हो।
पूर्वीचौकी गाउँपालिका–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई धनगढी ल्याइएकोमा अहिले उनीहरु उपचाररत छन्। उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको छ। चनाको छातीमा हावा जमेको, चारवटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ। यस्तै उनको घाँटीका हड्डी भाँचिएको चिकित्सकले बताएका छन्। त्यस्तै बिष्नाको हात भाँचिएको छ। उनी पनि उपचाररत छिन्।
अन्य घाइतेहरुको भने जिल्ला अस्पताल डोटीमै उपचार भइरहेको छ। भूकम्पमा ६ जनाको मृत्यु भएको थियो भने ८ जना गम्भीर घाइते भएका छन्। भूकम्पपछि पूर्वीचौकीको गैरा गाउँ अहिले शोकमा डुबेको छ।
मेरा लागि संसार सकियो
सेतीमा उपचाररत भूकम्पमा परी घाइते भएकी बिष्ना अझै त्यो पललाई स्मरण गर्छिन्। उनले भूकम्प आउनुअघि आफ्नो हासीखुसी परिवार रहेको सुनाउँदै भनिन्, ‘मेरो भन्नु कोही रहेन अब, के गर्ने ? संसार नै सकियो मेरो। सुरुमा सानो धक्का लागेजस्तो भएको थियो। पछि एकैपटक घर नै हामीमाथि खनियो। हिजो राति नै भारतबाट मेरो श्रीमानसमेत भारतबाट घर आउनुभएको थियो।’
उनका पति प्रेम बोहराले भूकम्पमा परेर ज्यान गुमाएका छन्। प्रेम हिजो राति ९ बजे खुसी हुँदै घर पुगेका थिए।