सेती अस्पतालको ओपिडी भवन भत्काउनुपर्ने, कहाँबाट हुन्छ सेवा सञ्चालन ?
धनगढी: धनगढी उप-महानगरपाललिकाले बजार क्षेत्रको मुख्य सडक विस्तार गर्ने योजना कार्यान्वयन गर्दा सेती प्रादेशिक अस्पतालको ओपिडी भवन भत्काउनुपर्ने भएको छ। पुरानो भवन भत्किदा अस्पतालको बहिरंग विभाग अन्यत्र सार्नुपर्ने भएको छ।
पुरानो भवनमा सञ्चालित बहिरंग विभाग कहाँ सार्ने भन्ने विषयमा अस्पतालले सामाजिक विकास मन्त्रालयसँग सहयोग माग गरिएको छ। निर्माणको चरणमा रहेको भवनको भुइतलामा बहिरंग सेवा सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए।
हामीले ओपिडी सञ्चालनका विषयमा सामाजिक विकास मन्त्रालयसँग सहयोग माग गरेका छौँ,' उनले भने, 'नयाँ भवनको भुइतलामा ओपिडी चलाउने तयारी गरेका छौँ, उपमहानगरपालिकासँग पनि ओपिडी खाली गर्न एक महिनाको समय मागेका छौँ।'
सेती अस्पतालले भवनका लागि सामाजिक विकास मन्त्रालयसँग रकम माग गरेको हो। सामाजिक विकास मन्त्रालयले पनि अस्पताललाई आवश्यक रकमका लागि प्रक्रिया थालेको छ। मर्मत सम्भार तथा व्यवस्थापन गर्न आवश्यक रकम रकमान्तर गर्नका लागि आर्थिक मामिला मन्त्रालयमा प्रस्ताव पठाइएको सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले बताए।
'हामीले सेती अस्पतालको मर्मत सम्भारको काम गर्न मन्त्रालयमा भएको बजेट रकमान्तर गर्न आर्थिक मामिला मन्त्रालयमा प्रस्ताव पठाएका छौँ,' उनले भने, 'अस्पतालमा निर्माणाधिन भवनमा पनि ओपिडी सञ्चालन गर्न सकिने अवस्था देखिएको छ भने कोरोना अस्थायी अस्पतालमा पनि सञ्चालन गर्न सकिने अवस्था छ।'
सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई तत्काल मर्मत सम्भारका लागि रकम उपलब्ध गराउने भएको हो। अस्पतालको पुरानो ओपिडी भवन भत्काउने परे पनि बहिरंग सेवा सञ्चालन गर्न कुनै समस्या नहुने दाबी गरिएको छ।
सेती प्रादेशिक अस्पतालमा संघीय सरकारको बजेटमा निर्माणाधिन अस्पताल भवनको काम समयमै सम्पन्न नहुँदा उपचार सेवा विस्तार गर्न समस्या भएको छ। पुरानो भवन भत्काउनु पर्ने र नयाँ भवन निर्माणमा निर्माण कम्पनीले लापरबाही गरेकाले ओपिडी सेवासमेत प्रभावित हुने देखिएको छ।