सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘भू–स्वर्ग’ खप्तडमा ५ करोडको योजना ४ वर्षदेखि अलपत्र

२०७९ कार्तिक २१, ०५:५७ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिमको ‘भू–स्वर्ग’ मानिने खप्तडमा वार्षिक ५ हजार आन्तरिक पर्यटक आउँछन्। जेठ र असार महिनामा लाग्ने गङ्गादशहरा मेलामा १० हजार धार्मिक पर्यटक पुग्ने भएपनि त्यसलाई विकासको पूर्वाधारले भने छुन सकेको छैन। 

धार्मिक र प्राकृतिक पर्यटनको ठूलो सम्भावना बोकेको खप्तडको अझै विकास हुन सकेको छैन। खप्तडलाई अहिले पनि विकट क्षेत्रकै रूपमा चित्रण गरिदैँ आएको छ। सुदूरपश्चिम प्रदेश सरकारले खप्तडको विकासमा बजेट घटाउँदै आएको खप्तड क्षेत्र पर्यटन विकास व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए। समिति बन्नुभन्दा पहिले ३ देखि ५ करोड बजेट विनियोजन गर्दै आएको प्रदेशले समिति गठनपछि भने एक करोड मात्र विनियोजन गरेको अध्यक्ष सिंहले बताए। 

उनले भने, ‘एक करोड बजेटमध्ये झण्डै ५० लाख कर्मचारी र बाँकी ५० लाख मात्र पुराना संरचना मर्मतमा खर्च हुने गरेको छ।’ झिंग्रानासम्म सडक कालोपत्रे भएको भइसकेको उनको भनाइ छ। खप्तड क्षेत्रमा बढीभन्दा बढी पर्यटक भित्र्याउन पूर्वाधार विकासको विकल्प छैन। खप्तडमा रहेका नाग ढुङ्गा, त्रिवेणी धाम, बाबा आश्रम, सहस्र लिङ्ग, केदार ढुङ्गा, खापर दहलगायत थुप्रै धार्मिक स्थलमा पूर्वाधारको कमी छ।

२ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जमा २२ ओटा विशाल पाटन छन्। यस्ता प्राकृतिक स्रोतसाधनले भरिपूर्ण खप्तडको उचित प्रवद्र्धन हुन नसक्दा विदेशी पर्यटकको आगमन बढ्न सकेको छैन।  यस्तै पर्यटकीय पूर्वाधार विकासमा सरकारी लगानी घट्दै गएको सरोकारवालाको गुनासो छ। यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खप्तडको गुरुयोजना बनाउन ५० लाख विनियोजन गरेको जनाएको छ। खप्तडलाई अन्तर्राष्ट्रिय शाधना केन्द्र बनाउन पहल सुरु गरिएको छ। 

खप्तडमा ४ रैथानेसहित १ सय ३५ प्रकारका पूmल फुल्छन्, भने नेपालमा पाइने ७ सय मुख्य जडीबुटीमध्ये २ सय २४ प्रजातिका यसै क्षेत्रमा पाइन्छन्। खप्तडमा ५ सय ६७ प्रजातिका वनस्पति र २ सय ७० जातका चराचुरुङ्गी छन्। धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको खप्तडमा विभिन्न पूर्वाधार निर्माण गरिने दाबी गरिदैँ आएपनि काम हुन सकेको छैन्।

३ हजार २ सय मिटर उचाइमा रहेको खप्तडमा पर्यटक पुग्न निकै कठिन छ। खप्तड क्षेत्र विकासका लागि पर्यटन मन्त्रालयले यसअघि २ करोड १४ लाख बजेट विनियोजन गरेको भएपनि प्रभावकारी काम हुन सकेको छैन्। केन्द्र सरकारबाट बजेट घोषणा हुने गरेपनि कार्यान्वयन हुने गरेको छैन्।

चार वर्षअघि पर्यटन बोर्डले खप्तडमा ८० बेड क्षमताको भौतिक संरचना निर्माणका लागि निर्माण सम्झौता गरेको भएपनि अहिलेसम्म काम हुन नसकेर त्यसै अलपत्र परेको खप्तड क्षेत्र पर्यटन विकास व्यवस्थापन समितिका अध्यक्ष सिंहले बताए। ५ करोड लगानीमा भौतिक संरचना निर्माणका लागि ठेक्का सम्झौता गरिएपनि चारवर्षदेखि काम हुन नसकेको उनको दाबी छ। 

आर्थिक सूचकहरूमा पछाडि रहेका बाजुरा, अछाम, बझाङ र डोटीको संगममा रहेको खप्तड क्षेत्रलाई पर्यटन विकासको गन्तव्यका रूपमा विकास गर्न सकियो भने समग्र सुदूरपश्चिमको आर्थिक समृद्धिमा महत्वपुर्ण टेवा पुग्ने देखिएपनि ठोस योजनासहित काम हुन सकेको छैन्।

कमेन्ट लोड गर्नुस