कैलाली-५ मा पुराना योजना देखाएर भोट माग्दै एमाले, जनताले गठबन्धन नगरेको तर्क
धनगढी: कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेका उम्मेदवारहरु पुराना योजना देखाएर मत मागिरहेका छन्। एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनि रानाले धनगढीको विकासका लागि काम गरेको दाबी गरेका हुन्।
उनी धनगढीमा क्षेत्रीय सहरीका सडकहरु, सघन सहरीका सडकहरु, धनगढी सभा हल, कनरी पार्क, जडिबुटी प्रसोधन केन्द्र, फूलबारी बसपार्क लगाएतका पुराना योजना देखाएर भोट मागिरहेका छन्। प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्व मन्त्री राना र प्रदेश सभा सदस्यका उम्मेदवारहरु नेपालु चौधरी तथा दुर्गा प्रसाद जोशी पुराना योजनासहित चुनावै मैदानमा रहेका हुन्। पूर्व मन्त्री राना र पूर्व प्रदेशसभा सदस्य चौधरी आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका योजना देखाउदै भोट मागिरहेका हुन्।
प्रदेश सभा सदस्यका उम्मेदवार जोशीले विगत ३५ वर्षदेखि धनगढीमा बसेर शैक्षिक, सामाजिक र स्वास्थ्य क्षेत्रमा योगदान दिएको दाबी गर्दैछन्। राना र चौधरीले पुराना योजना र एमालेको राष्ट्रवाद देखाएर विजयी हुने दाबी गरिरहेका हुन्। एमालेका उम्मेदवारहरूले गठबन्धनको लक्ष्य र गन्तव्य नभएको आरोप छ।
जनताले गठबन्धन नगरेकाले प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एमालेले जित्ने दाबी उनीहरुको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि र प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवारले आफूहरू जित्ने दाबी र आधार प्रस्तुत गरेका हुन्। चुनावी प्रचारप्रसारमा व्यस्त रहेका उनीहरूले मतदाताले नेकपा एमालेलाई जिताएर संघ र प्रदेश सरकार बनाउने मौका दिने दाबी गरेका छन्। २०७४ मा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (१) बाट चुनाव जितेका नेपालु चौधरीलाई यो पटक पनि उम्मेदवार बनाएको छ।
प्रदेश सभा सदस्यका उम्मेदवार चौधरीले पहिलो कार्यकालमा प्रदेश सभाको विधायन समितिको सभापति भएर कानुन निर्माणमा महत्वपूर्ण भूमिका खेलेकाले जनताले दोस्रो पटक पनि भोट दिएर जिताउने विश्वास गरेका छन्। 'मैले प्रदेशको कानुन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छु,' उनले भने, 'आफ्नो निर्वाचन क्षेत्रमा पनि विकास निर्माणको काम गरेको छु, यो पटक पनि मतदाताले मलाई जिताउँछन्।' कैलाली-५ को (२) मा नेकपा एमालेले दुर्गाप्रसाद जोशीलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ। उनी पनि अन्य उम्मेदवारले झै भोट माग्न प्रचारप्रसारमा व्यस्त छन्।
जनताको समस्या बुझ्ने र समाधानका लागि सरकारसँग पहल गर्न सक्ने उम्मेदवार मतदाताले खोजेको र त्यो व्यक्ति आफू भएको जोशीको दाबी छ। 'मंसिर ४ मा हुने चुनावमा मतदाताले मलाई जिताउँछन् भन्नेमा म ढुक्क छु,' उनले भने, 'धनगढीमा बसेर ३५ वर्षदेखि शिक्षा, स्वास्थ्य र राजनीतिको क्षेत्रमा काम गरेको छु, यो पटक कैलाली-५ मा संघ र प्रदेशमा नेकपा एमाले जित्छ।' नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारादमुनि रानाले देशव्यापी रुपमै महोल नेकपा एमालेको पक्षमा रहेको दाबी गरेका छन्।
संघ र प्रदेशमा नेकपा एमालेको स्वाभाविक जित हुने दाबी उनको छ। उनले पहिलो कार्यकालमा कैलाली-५ मा पूर्वाधार विकासतर्फ धेरै काम गरेको र थप काम गर्न जनताले दोस्रो कार्यकालका लागि पनि जिताउने विश्वास उनले व्यक्त गरेका छन्। 'नेकपा एमालेसँग राष्ट्रियता, स्वाधीनता, विकास र समृद्धिको स्पष्ट एजेण्डा छन्, जुन एजेण्डा जनताले मन पराएका छन्।' उनले भने, 'देशमा विकास गर्न एमालेको सरकार बन्नु पर्छ, गठबन्धनको कुनै लक्ष्य, उद्देश्य र गन्तव्य नै नभएकाले मंसिर ४ पछि प्रदेश र संघमा नेकपा एमालेको सरकार बन्छ।' कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट २०७४ मा निर्वाचित नारादमुनि रानाले यो पटक पनि मतदाता नेकपा एमालेको पक्षमा भएको दाबी गरेका छन्।
उनले आफ्नो प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवारभन्दा पनि गठबन्धसँग हुने बताएका छन्। रानाले पहिलो कार्यकालमा पूर्वाधार विकासतर्फ थुप्रै काम भएकाले कैलाली-५ मा थप विकास गर्न मतदाताको घरदैलोमा रहेको बताए। 'मेरो प्रतिस्पर्धा गठबन्धनसँग हो, उनले भने,' तर गठबन्धनको कुनै लक्ष्य र गन्तव्य नभएकाले जनताले नेकपा एमालेलेलाई जिताउँछन्।' कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगरपालिकाका १९ वटा वडा र कैलारी गाउँपालिकाका २ वडा गरि जम्मा २१ वडा छन्। यहाँ एक लाख १० हजार ४ सय ५३ मतदाता रहेका छन्।