सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेलाई सरकारमा पुर्‍याउन होइन, देश बनाउन भोट दिनुस् : ओली

२०७९ कार्तिक १८, ०५:४०

सीपी लोहिया, बैतडी: पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा पुर्‍याउन नभई देश बनाउन भोट दिनुपर्ने बताएका छन्। बैतडीको चुनावी आमसभामा उनले विकास गर्नका लागि स्थायी सरकार चाहिने हुँदा देश बनाउनका लागि एमालेलाई भोट दिनुपर्ने बताएका हुन्।

'विकास गर्न टालाटुली बटुली कतिराम्री कठपुतली भएको सरकारले हुँदैन, स्थायी सरकार चाहिन्छ, त्यसैले अब मंसिर ४ पछि एमालेको स्थायी सरकार बनाउँ, एमालेलाई सरकारमा पुुग्नका लागि होइन, देश बनाउनका लागि भोट दिनुुस्,' उनले भने। ओलीले वर्तमान सरकार विदेशीसामू घुडा टेकेर बसेको आरोप लगाएका छन्। 

'तुुइन काटेर नेपालीलाई महाकालीमा फाल्दा यो सरकार एक शब्द बोल्न सक्दैन, विदेशीसँग गलत सम्झौता गर्छ, तर प्रधानन्यायधीशलाई नजरबन्दमा राख्ने, उहाँको छोरीलाई दिनभर थुुनेर साँझ छोडिदिने जस्ता कृयाकलाप निन्दनीय छन्,' उनले भने, 'यसले काम केही गर्दैन, हामीले सडक बालबालिकाहरुको व्यवस्थापन गरेका थियौँ, हामी सरकारबाट बाहिरिए लगत्तै फेरि समस्या बल्झियो, जब कंगाल बुद्धिका मान्छे सरकारमा आउँछन् तब देश बिग्रन्छ।' 

उनले कांग्रेस नेतृत्वको सरकारलाई व्यंग गर्दै २५ वर्षको उमेरमै भत्ता पाउनुपर्छ भन्न बेर नलाउने बताए। 'हामीले १ सयबाट सुरु गरेको ज्येष्ठ नागरिक भत्ता अहिले ४ हजार बनाएका छौँ। त्यसलाई कहिले ६८ वर्ष, कहिले ६५ वर्ष भन्दाभन्दै २५मै पाउनुुपर्छ भन्न बेर छैन,' उनले भने। 

एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले विगतमा टाउकोको मूल्य तोक्नेहरुको गठबन्धन नटिक्ने दाबी गरे। उनले भने, 'अब गठबन्धनको प्रधानमन्त्री को हो ? गोरखाबाट प्रचण्ड म हुँ भन्छन्, कांग्रेसका गगन थापा म हुँ भन्छन्, शेरबहादुर देउवा डडेल्धुराबाट मै हुुँ भन्छन् र अन्य दलहरुको त कुरै छोडौँ। त्यसैले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाई देश विकास गर्ने योजना छ, सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्छु।'

एमाले बैतडीबाट प्रतिनिधि सभामा पूर्व अर्थराज्यमन्त्री समेत रहेका दामोदर भण्डारी प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन् भने, प्रदेश सभा सदस्यका लागि क्षेत्र (क) बाट पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पाल र क्षेत्र (ख) बाट पार्टी केन्द्रीय सदस्य लिलाधर भट्ट उम्मेदवार छन्। यसैगरी एमाले बैतडीबाट समानुपातिकतर्फ प्रदेश सभामा जानकी ऐर बम र भरत मडै उम्मेदवार छन्। 

कमेन्ट लोड गर्नुस