बैतडीमा ओलीले भने, 'एमालेको आगामी योजना सुुदूरपश्चिममा विकासको मूल फुुटाउने हो'
सीपी लोहिया, बैतडीः पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी विशाल आमसभालाई सम्बोधन गरेका छन्। दार्चुलाबाट एमालेको चुनावी अभियान सुरुवात गर्दै बैतडी पुगेका ओलीले एमालेको आगामी योजना सुदूरपश्चिममा विकासको मूल फुटाउने रहेको बताए।
ओलीले बैतडीबासीलाई विकास निर्माणका विभिन्न आयोजनाहरु पूरा गर्ने आश्वासन दिएका छन्। नेपाल–भारत सीमानदी झुलाघाटमा पक्की पुुल, महाकाली करिडोर आयोजना सम्पन्न, गोकुलेश्वरमा रहेको कृषि विज्ञान कलेज र पाटनमा रहेको भीमदत्त पोलिटेक्नीकल शिक्षालयको स्तरोन्नती, दशरथचन्द प्रतिष्ठानलाई राष्ट्रिय प्रतिष्ठान बनाउने, खनिज पदार्थको उत्खनन् तथा बैतडीमा रहेको फस्फोराईड खानी सञ्चालन गर्ने बताए।
उल्लेखित आयोजनाहरुको काम विगतमा आफू नेतृत्वको सरकारले सुुरुवात गरेपनि वर्तमान सरकारले अलपत्र छाडेको उनको आरोप छ। ओलीले बैतडीसहित सुदूरपश्चिका विभिन्न सामुुदायिक क्याम्पसहरुलाई आगिंक बनाएको बताए।
अध्यक्ष ओलीले सुदूरपश्चिममा रहेका सबै राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको बताए।
मंसिर ४ मा एमालेलाई भोट दिन आग्रह गर्दै उनले भने, 'नेकपा(एमाले)ले अहिले बच्चा गर्भमा रहदाँदेखि पूरै जीवनका योजनाको खाकासहित सार्वजनिक गरेको पार्टीको घोषणा पत्रमा टेकेर काम गर्नेछौँ। सूर्य चिन्हमा मतदान गरी एमालेका सबै उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गर्छु।'