नेपाली टोलीले गर्यो जितको प्रभावशाली सुरुवात, कैलालीकी ओलीको उत्कृष्ट प्रदर्शन
काठमाडौँ: बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपालले शानदार सुरुवात गरेको छ। ढाकामा जारी प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० ले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली शुरुवात गरेको हो।
किशोरी टिमले फराकिलो जित निकाल्ने क्रममा भुटानविरुद्ध गोल वर्षा गरेको थियो। नेपालका लागि कैलालीकी वर्षा ओलीले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरिन्। शुक्रिया मियाँले २ तथा सेनु परियारले १ गोल गरेकी थिइन्। १० खेलाडीमा समेटिएको भुटानविरुद्ध नेपालले पहिलो हाफमै ४ गोल गरेको थियो।
पहिलो मिनेटमा वर्षाले गोल गर्दै नेपाललाई शुरुआती अग्रता दिलाएकी थिइन्। त्यसपछि पनि नेपालले लगातार गोल गर्यो। १७ औं मिनेटमा वर्षाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्।
खेलमा वर्षाले ३४ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् भने चौथो गोल पनि उनले नै ३५ औं मिनेटमा गर्दै आफ्नो रवाफिलो प्रदर्शनका साथ पहिलो हाफमा टिमलाई ४–० को अग्रता दिलाइन्।
दोस्रो हाफमा पनि नेपाले भुटानविरुद्ध गोल वर्षा जारी राख्यो। ६५ औं मिनेटमा शुक्रियाले गोल गर्दा नेपालको अग्रता ५–० मा पुगेको थियो।
खेलमा नेपालले फराकिलो अग्रता बनाउने क्रममा ७२ औं मिनेटमा शुक्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० को अग्रता दिलाइन्। टिमका लागि ८५ औं मिनेटमा सेनुले गोल गर्दा नेपाले ७–० को एकतर्फी जित निकाल्यो। जितसँगै नेपालले विजयी सुरुवात गर्यो।