सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम केन्द्रिन शीर्ष नेता, हेलिकोप्टर चार्टर गरेर चुनावी सभा गर्दै

२०७९ कार्तिक १७, ११:०१ नारायण अवस्थी

धनगढी: मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावको प्रचारप्रसार गर्न सुदूरपश्चिमबाट राजनीतिक दलका ठुला चुनावी आम सभा सुरु भएका छन्। निर्वाचन आयोगले बिहीबारदेखि आम सभा कोण सभा र जुलुसका लागि अनुमति दिएसँगै गठबन्धनको डडेल्धुरामा चुनावी सभा आयोजना गरिएको छ।

नेकपा एमालेले शुक्रबारदेखि दार्चुलाबाट चुनावी सभाको सुरुवात गर्ने भएको छ। प्रदेश र प्रतिनिधि सभा सदस्यका उम्मेदवारको पक्षमा मत पार्न सत्ता गठबन्धन र एमालेका नेताहरु चुनावी सभामा केन्द्रित भएका हुन्। बिहीबारदेखि चार दिनसम्म काँग्रसे पार्टी सभापति शेरबहादुर देउवाले डडेल्धुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने तय भएको छ। 

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकै दिन तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। एमाले अध्यक्ष ओलीले शुक्रबार दार्चुला, बैतडी र कञ्चनपुर पुगेर नेकपा एमालेका चुनावी सभालाई सम्बोधन गर्ने तय भएको हो। एमालेका अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले हेलिकप्टर प्रयोगको अनुमति लिएर चुनावी सभामा दौड्न थालेका हुन्।  

पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई बिहीबार डडेल्धुरा सदरमुकाममा सम्बोधन गर्दै प्रधानमन्त्री एवं काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले चुनावी आम सभाको सुरुवात गरेका हुन्। डडेल्धुरामा प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका देउवाले जिल्लामा चार दिन बसेर गठबन्धनका पक्षमा हुने चुनावी सभामा सहभागी हुने समय तालिका छ।

सत्ता गठबन्धनले सुदूरपश्चिममा अन्य जिल्लामा पनि शीर्ष नेताहरूलाई बोलाएर चुनावी सभा गर्ने तयारी भइरहेको काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री मेघराज खड्काले बताए। 'पाँच दलीय गठबन्धनका शीर्ष नेतृत्व सुदूरपश्चिमका अन्य जिल्लामा पनि आउनुपर्छ भन्ने माग गरेका छौँ,' उनले भने, 'अछाममा गठबन्धनका तीन दलका उम्मेदवार छौँ, हामीले यहाँ पनि शीर्ष नेतृत्व आउनुपर्छ भने पनि मितिको टुङ्गो लागेको छैन।'

नेकपा एमालेले पनि आम निर्वाचन २०७९ को औपचारिक चुनावी सभा सुदूरपश्चिमबाट थालनी गर्ने भएको हो। एमालेले कालापानी लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा सार्वजनिक गरिएको सम्झनामा शुक्रबार राष्ट्रिय निर्वाचनको औपचारिक सभा दार्चुला सदरमुकाम खलंगामा गर्दैछ।

चुनावी सभामा एमालेका अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका छन्। एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरा पवित्र भूमि नेपालमा फिर्ता ल्याउने पार्टीको नीति अनुरुप नेकपा एमालेले चुनावी सभाको सुरुवात दार्चुलाबाट गरेको बताएका छन्।

'नेकपा एमालेले दार्चुला जिल्लाबाट चुनावी सभाको आयोजना गर्दै छ,' उनले भने, 'शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुका खलंगा, बैतडीको पाटन र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।'

एमाले अध्यक्ष ओलीले शुक्रबार दार्चुलामा ११ बजे चुनावी सभालाई सम्बोधन गर्नेछन्। उनले दिउँसो २ बजे बैतडीको पाटनमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्नेछन्। यस्तै, शुक्रबार नै अध्यक्ष ओलीले कञ्चनपुरमा पनि चुनावी सभालाई सम्बोधन गर्ने समय तालिका छ। ठुला राजनीतिक दलहरुले सुदूरपश्चिमबाट चुनावी सभा आयोजना गर्न सुरु गरेका हुन्।

एमाले प्रदेश अध्यक्ष भण्डारीले नेकपा एमाले सुदूरपश्चिममा पहिलो ठुलो दल बन्ने दाबी गरेका छन्। 'नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा पहिलो ठुलो दल बन्ने हामीले देखेका छौँ,' उनले भने, 'चुनावपछि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको सरकार बन्छ।'

सत्ता गठबन्धन दलहरुले पनि प्रदेश सरकार बनाउन बहुमत ल्याउने दाबी गरेका छन्। प्रदेशभर कसिलो गठबन्धन भएकाले चुनावमा बहुमत ल्याउनेमा गठबन्धन दलका नेताहरू ढुक्क रहेको बताउने गरेका छन्। सत्ता गठबन्धनले बिहीबारदेखि डडेल्धुराबाट चुनावी सभा गर्न सुरुवात गरेको हो भने नेकपा एमालेले आम निर्वाचन २०७९ को प्रचारप्रसारलाई शुक्रबारदेखि औपचारिकता दिने भएको छ।

गठबन्धन र नेकपा एमालेबीच सुदूरपश्चिमका प्रतिनिध सभाका १६ सिट र प्रदेश सभा सदस्यका ३२ सिटमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। प्रदेश सभामा समानुपातिकतर्फ भने २१ सदस्य संख्या रहेको छ। नेकपा एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाले हेलिकप्टर प्रयोगको अनुमति लिएर चुनावी सभा गर्दैछन्। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस