पर्यटन प्रवर्द्धनका लागि डडेल्धुराको अजयमेरु कोटमा महोत्सव हुने
नेपाली भाषाको उद्धगम स्थलका रुपमा चिनिने डडेल्धुराको अजयमेरुकोटमा पहिलो पटक महोत्सव आयोजना हुने भएको छ। १५ सय वर्ष अघिको पुरातात्वीक महत्त्वको स्थलका रुपमा चिनिएको अजयमेरु कोटमा महोत्सव हुने भएको हो। अजयमेरु गाउँपालिकाको आयोजनमा बैशाख ३ गतेदेखि ७ गते सम्म महोत्सवगर्ने निर्णय भएको हो।
पर्यटन प्रवर्द्धनसंगै कृषि प्रदर्शनक लागि महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष तथा महोत्सव आयोजक मुल समितिका संयोजक उमेशप्रशाद भट्ट विकासले जानकारी दिए। अजयमेरु कोट सम्म सडक पुगिकाले महोत्सव आयोजनामा ठुलो समस्या नहुने उनको भनाई छ। महोत्सव आयोजनाका लागि विभिन्न समिति र उपसमितिहरु गठन भईरहेका छन्।
नेपाल एकीकरणमा पश्चिम विजय गर्ने प्रमुख सामरिक अमरगढी किल्लादेखि ७ किलोमिटर दूरीमा रहेको अजयमेरुकोट संरक्षणको पर्खाईमा रहेको छ। दरवार क्षेत्रका अद्भुत कलाकृतिहरु चोरी हुन थालेपछि गाउँपालिकाले कोट संरक्षणका लागि पनि योजनाबद्ध रुपमा लाग्ने जनाएको छ।
जुम्लादेखि कर्णाली नदीसम्मको शक्तिशाली डोटी राज्यको राजधानी रहेको अजयमेरुकोट नेपाली भाषाको उद्गम स्थल मात्र नभई १५ सय वर्ष अघिको इतिहासको प्रमुख अनुसन्धान केन्द्रका रुपमा पनि हेरिएको छ। दरबार भित्रैबाट ४ किलोमिटर सुरुङ मार्ग हुदै गणीका नदी निस्कने गुफा, तेह्रौं शताब्दीका अद्भुत कलाकृति, कल्पना गर्न नसकिने ठूलाठूला ढुंगा काटेर बनाइएका दरबारका अवशेष हेर्न लायक छन्।
चार दशक भन्दाबढी अजयमेरुबाट शासन गरेका डोटेली राजाहरुले सो क्षेत्रमा निर्माण गरेका देवलहरु, स्नान घर र पानी पधेरो ढुंगेकला पनि धेरै पर्यटकहरुको ध्यान खिच्न सफल हुँदै आएका छन्। नेपाल एकिकरणको अभियानसंगै बिस १८४७ भाद्र ३१ गते सेती नदी किनारमा गौर्खाली सेनासंग डोटेली सैन्य पराजित भएपछि डोटी राज्य बृहत नेपाल भित्र समाहित भएको थियो।