प्रधानमन्त्री कप : सुदूरपश्चिम एपीएफसँग १० विकेटले पराजित
धनगढीः प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेटमा सुदूरपश्चिम पराजित भएको छ। विभागीय टोली एपीएफसँग सुदूरपश्चिम १० विकेटले पराजित भएको हो।
मूलपानी मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको ६८ रनको झिनो लक्ष्य एपीएफले ११ दशमलव २ ओभरमा विना क्षति पूरा गरेको छ। एपीएफका ओपनरद्वय आसिफ शेखले ३२ बलमा ४२ र प्रदीप ऐरीले ३६ बलमा २५ रनको अविजित पारी खेले।
टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ४३ ओभरमा ६७ रनमै अलआउट भएको थियो। उसका लागि कप्तान राजु रिजालले सर्वाधिक २४ रन बनाए। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपीएफका लागि स्पिनर भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्दै २२ रन खर्चिए। कमल ऐरी र मौसम ढकालले समान २ विकेट लिए।
प्रधानमन्त्री कपको समूह ए मा रहेको एपीएफको यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा उसले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ५६ रनले हराएको थियो।