गठबन्धनका चुनावी योजनाः धनगढीको डुबान समस्या समाधानदेखि हरित सहरसम्म
धनगढीः डुबान र कटान समस्या हल गर्नेदेखि धनगढीलाई नमुना सहर बनाउन भोट माग्दै गठबन्धनका उम्मेदवार कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का गठबन्धनका उम्मेदवारहरूले डुबान र कटान समस्या हल गर्नेदेखि धनगढीलाई नमुना सहर बनाउने भन्दै भोट मागिरहेका छन्। उनीहरूले निर्वाचन क्षेत्रको समग्र विकासका लागि गठबन्धनलाई जिताउन आग्रह गर्दै आएका हुन्।
मंसिर ४ मा हुने चुनावमा भोट माग्न घरदैलो गरिरहेका उनीहरूले आफ्नो क्षेत्रका सबै खाले समस्याको दीर्घकालीन समाधान गर्न अवसर दिनुपर्ने बताएका छन्। धनगढीको डुबान र नदी कटान रोक्न वृहत योजना ल्याउने बताएका गठबन्धनका उम्मेदवारहरूले हरित-नमुना सहको रुपमा विकास गर्न योजना रहेको घोषणा पत्र सार्वजनिक गरेका छन्। गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार डिल्लीराज पन्त र प्रदेशसभा सदस्यका उम्मेदवार प्रकाशबहादुर देउवा र रमेश धामीले निर्वाचित भए आफ्नो निर्वाचन क्षेत्रको वृहत्तर विकास गर्ने दाबी गरेका हुन्।
निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिनुपर्ने आग्रह गर्दै घरदैलोमा व्यस्त रहेका उम्मेदवारहरूले प्रतिवद्धता पत्र मै आफूले गर्ने कामको विवरण सार्वजनिक गरेका छन्। गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पन्तले संयुक्त २२ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन्। उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ लाई आर्थिक, शैक्षिक, स्वास्थ्य, पर्यटन तथा खेलकुद केन्द्रका रुपमा विकास गर्न दीर्घकालीन र व्यवस्थित योजना निर्माण गरी तीनै तहका सरकारसँग अर्थपूर्ण समन्वय र सहकार्यमा अघि बढ्ने बताएका छन्। 'हामीले स्थानीयको आवश्यकता र मागको आधारमा योजना छनोट र बजेट ल्याउने काम गर्ने छौँ,' उनले भने, 'निर्वाचन क्षेत्रमा रहेका २१ वटै वडामा खानेपानी, सडक, शिक्षा, स्वास्थ्य र नदी कटान र डुबानको दीर्घकालीन समस्या हल गर्न काम गर्ने छौँ।'
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (१) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता रमेश धामी प्रदेशसभा सदस्यका उम्मेदवार छन्। उनले पनि जनतासँग मतमाग्न घरदैलो गरिरहेका छन्। प्रदेशसभा सदस्यको रुपमा कानुन निर्माण गर्न र विकास निर्माणका काम गर्न सक्षम जनप्रतिनिधिको रुपमामा काम गर्न मत मागी रहेको उनले बताएका छन्।
१९ बुँदे घोषणा पत्र तयार गरेर घरदैलोमा व्यस्त रहेका धामीले बताए। उनले गठबन्धनका उम्मेदवारलाई जनताले जिताउने दाबीसमेत गरेका छन्। 'चुनावपछि गठबन्धनको सरकार बन्ने अवस्था छ, तसर्थ गठबन्धनलाई जिताउनुस् भनेर भोट मागिरहेका छु,' उनले भने, 'चुनाव जिताए कैलाली ५ को (१) का सबै किसिमका समस्या समाधान गर्न काम गर्ने छु।' कैलाली ५ को (२) मा गठबन्धनले नेपाली काँग्रेसका नेता प्रकाशबहादुर देउवालाई उम्मेदवार बनाएको छ।
देउवाले १० बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन्। धनगढी उपमहानगरमा हुने डुबान, नदी कटान, अतिक्रमण र अव्यवस्थित सहरीकरणको दीर्घकालीन समाधान गर्न आफूलाई मत दिनुपर्ने जिकिर देउवाको छ। 'धनगढीका विभिन्न वडामा डुबानको समस्या छ, डुबानको समस्या समाधान गर्न काम गर्ने छु,' उनले भने, 'डुबान, खोलानाला अतिक्रमण, तथा अव्यवस्थित सहरीकरणको समस्या समाधान गर्न वृहत्तर गुरुयोजना बनाएर तीनै तहको सरकार र अन्य निकायसँग समन्वय र सहकार्यमा समस्या समाधान गर्न पहल गर्ने छु।'
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का गठबन्धनका प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारहरूले स्थिर र जवाफदेही सरकार निर्माण गर्न, योजनावद्ध विकास गर्न, सुशासनका लागि गठबन्धनलाई भोट दिनुपर्ने बताएका हुन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने २१ वटै वडामा ५ वर्षभित्र खानेपानी र विजुलीको पँहुच विस्तार गर्न, हरेक वडामा नमुना सामुदायिक विद्यालय, दुबै प्रदेशसभा क्षेत्रमा प्राविधिक शिक्षालय, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सबै वडामा बाल उद्दान र बाल मनोरञ्जन स्थल, कम्तिका पाँच वटा आधुनिक पार्क, अत्याधुनिक वसपार्क, फोहरमैला प्रशोधन केन्द्र, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजको सञ्चालन गर्न गठबन्धनका उम्मेदवारलाई जिताउन मतदाताहरूलाई उनीहरु मत दिन आग्रह गरिरहेका छन्।