सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दलित महिला संघ (फेडो)को सामाजिक लेखा परीक्षण सम्पन्न

२०७९ कार्तिक १४, ०७:५७ खबर संवाददाता

धनगढी: कैलालीमा सन २०२१ देखि सुरु भएको ‘नेपालमा दलित महिलाको मानव अधिकार सवलीकरण’ परियोजनाको प्रगति विवरण प्रस्तुत गर्दै दलित महिला संघ फेडोले सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ। २०२१ देखि हालसम्म परियोजना अन्तरगत सञ्चालन गरिएका गतिविधि, कार्यक्रम सञ्चालन गर्दा देखिएका चुनौति, मुख्य उपलब्धि समेटेर तयार पारिएको कार्यपत्र कार्यक्रममा प्रस्तुत गरिएको थियो।

कार्यपत्र प्रस्तुत गर्दै दलित महिला संघ (फेडो) का कैलाली संयोजक विनोद घिमिरेले दलित महिलालाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउन कानुनी तालिम प्रदान गरिएको, कार्यक्रम सञ्चालन भएका स्थानमा २० वटा वचत समूह गठन गरी आर्थिक रुपमा महिलालाई सक्षम बनाइएको, २५ जना अगुवा महिला अभियान्ता समूह गठन, न्यायमा पहुँच बढाउने खालको विभिन्न गतिविधि सञ्चालन गरिएको बताए।

परियोजना सञ्चालन भएको स्थान गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा दलित महिला सदस्यलाई समक्ष बनाउन दलित महिला बचत समूह गठन गरी उनिहरुलाई व्यवसायमा जोडिन अभिप्रेरित गरिएको संयोजक घिमिरेले बताए। परियोजनाले पछाडि पारिएका दलित महिलालाई राजनीतिक रुपमा सक्षम बनाउन कानुनी तालिम प्रदान गरेको, नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरेको र हिंसामा परेका महिलालाई न्यायमा पहुँच बढाउने तथा प्रभावित महिलालाई कानुनी उपचारका लागि सहयोग गरेको उनले बताए। कार्यक्रममा परियोजना अन्तरगत सञ्चालन गरिएका क्रियाकलापलाई समेटेर तयार परिएको श्रव्यदृश्य सामाग्री प्रस्तुत गरिएको थियो।

धनगढी उप महानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले समाजमा व्याप्त रुढीबादी परम्परालाई अन्त्य गर्न मानिसको सोच परिवर्तन हुन जरुरी रहेको बताएकी छिन्। कार्यक्रममा उप प्रमुख रानाले रुढीबादी परम्परा अन्त्यका लागि कानुन बने पनि व्यक्तिवादी सोच बदलिन नसक्दा ती परम्परा अन्त्य हुन नसकेको बताएकी हुन्।

दलित भित्रपनि पछाडि पारिएका दलित महिलालाई सक्षम बनाउन फेडोले गरेको गतिविधि सराहनीय रहेको उनले बताइन्। ‘दलित महिलालाई राजनीतिक तथा आर्थिक रुपमा सक्षम बनाउन फेडोले गरेका गतिविधि प्रशंसनीय छन्,’ उनले भनिन्, ‘गाउँगाउँमा गठन गरिएका बचत समूहले परियोजना समापन पश्चात पनि महिलालाई आर्थिक क्षेत्रमा चलायमान बनाउन सहयोग पग्ने अपेक्षा गरिएको छ।’

राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख हरिप्रसाद ज्ञवालीले महिलासँगै बालबालिकालाई पनि कार्यक्रममा जोडेर चेतनाको स्तर बढाउन सुझाव दिए। ‘महिलालाई माथि उकास्न गरिएका प्रयासले समाज विकासमा सहयोग पु¥याउन मद्धत गर्दछ,’ उनले भने, ‘त्यसैमा बालबालिकालाई जोडेर शिक्षाको स्तर सुधार गर्दा त्यसले नयाँ पिढीलाई कुरीतिविरुद्ध लड्न सिकाउँछ, त्यसैले आगामी दिनमा महिलासँगै बाल शिक्षामा जोड दिनुपर्छ भन्ने मेरो मान्यता हो।’

सुदूरपश्चम प्रदेश सामाजिक विकास मन्त्रालयकी बाल अधिकार तथा सामाजिक न्याय शाखा प्रमुख जयन्ती गिरीले गाउँगाउँमा महिला समूह गठन गरी बचत गर्ने बानीको विकास हुँदा त्यसले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन सहयोग पुग्ने बताइन्। आगामी दिनमा लक्षित समुदाय क्षेत्रमा काम गर्दा फेडोसँग सहकार्य गरिने उनले बताइन्।

जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गत महिला तथा बालबालिका युनिटकी इन्चार्ज प्रहरी निरीक्षक सरस्वती अधिकारीले विपन्न महिलामाथि हुने हिंसापछि न्याय पाउन समस्या हुने गरेको भन्दै उनीहरुलाई न्याय प्रदानका लागि समन्वय गर्न आग्रह गरिन्। कार्यक्रममा जिल्ला बार एशोसियसनका सदस्य कर्णसिंह महरा, नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। फेडो कैलालीकी अध्यक्ष तथा केन्द्रीय सदस्य सविना सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेडोका आहत पछिको परियोजनाका प्रदेश संयोजक तारक ताम्राकारले सहजीकरण गरेका थिए।

कमेन्ट लोड गर्नुस