बैतडीमा काँग्रेस नेता कोली पार्टीबाटै निकालिए, ऐरलाई स्पष्टीकरण सोधियो
धनगढीः बैतडीमा नेपाली काँग्रेसले दलित संघका अध्यक्षसमेत रहेका नेता रमेश कोलीलाई पार्टीबाट निकालेको छ। कोलीलाई साधारण सदस्य समेत नरहने गरेर पार्टीबाट निकालिएको हो।
काँग्रेस बैतडीका अनुशासन समिति संयोजक देवराज जोशीका अनुसार ५ वर्षसम्म पार्टीको सदस्य नरहने गरेर कोलीलाई कारबाही गरिएको छ। पार्टीको निर्णयविपरीत स्वतन्त्र उम्मेदवार (बागी उम्मेदवार) को मुख्य प्रचारकको भूमिकामा रहेको भन्दै कोलीलाई कारबाही गरिएको जोशीले बताए।
यस्तै काँग्रेसका पाटन नगरसभापति मानबहादुर ऐरलाई पनि स्पष्टीकरण सोधिएको छ। आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’उम्मेदवारलाई सहयोग गरेको भन्ने प्रमाण प्राप्त भएकाले उनलाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ।
स्पष्टीकरण पेश नगरे कारबाही गरिने सचिव जोशीले बताए। कोली र ऐर बागी उम्मेदवार हरिमोहन भण्डारीको पक्षमा खुलेर लागेका छन्।