सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ठगुन्ना र बडूको रोचक प्रतिस्पर्धा, को बलियो ?

संसदीय निर्वाचन

२०७९ कार्तिक १४, ११:२१ नारायण अवस्थी

धनगढी: मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावमा दार्चुला जिल्लामा गठबन्धन र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा हुने भएको छ। गत बैशाखमा भएको स्थानीय तहको चुनावमा करिव बराबरी मत पाएको गठबन्धन र एमालेका उम्मेदवारले आफूले सहजै जित्ने दाबी गरेका छन्।

गत बैशाखमा भएको स्थानीय तहको चुनावको मत परिणाम हेर्ने हो भने एमाले र गठबन्धनको कडा प्रतिस्पर्धा हुने देखिन्छ। उम्मेदवारहरूले सहज जित निकाल्ने बताए पनि स्थानीय तहमा वडा अध्यक्षतर्फ ७०७ मतले अगाडि रहेको एमालेलाई पराजित गर्न गठबन्धनले निकै मेहनत गर्नुपर्ने अनुमान गरिएको छ। दार्चुलामा गठबन्धनबाट नेपाली काँग्रेसका नेता एवं वर्तमान सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू उम्मेदवार छन्। नेकपा एमालेबाट पूर्व मन्त्री गणेशसिंह ठगुन्ना चुनावी मैदानमा छन।

दार्चुलामा यो पटक मन्त्री र पूर्व मन्त्रीबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। २०४८ र २०५६ मा दार्चुलाबाट निर्वाचित बडू नेपाली काँग्रेसका प्रभावशाली नेता हुन्। बडू २०७० र २०७४ मा सामानुपातिक उम्मेदवारका रुपमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए। बडूसँग विगतमा शिक्षा, वन र सञ्चार मन्त्री भएर काम गरेको अनुभव छ। उनीसँग यो पटक गठबन्धनका दलको साथ र समर्थन छ।

जनतासँग विगतमा गरेको कामको मुल्यांकन गरेर भोट दिन अनुरोध गरिरहेको बडूले बताए। 'मतदातासँग विगतको कामको मुल्यांकन गरेर भोट दिनुस् भनिरहेको छु,' उनले भने, 'जिल्लामा मैले निर्वाचित भएपछि पूर्वाधार विकास, खानेपानी, शिक्षा, स्वास्थ्य, सडक निर्माणमा थुप्रै काम भएका छन्। एमाले आएपछि धेरै काम अवरुद्ध भएका छन्, त्यसैले यो पल्ट जिल्लामा थप विकास निर्माणका काम गर्न जनताले गठबन्धनलाई जिताउँछन्।' नेकपा एमालेबाट उम्मेदवार रहेको पूर्व मन्त्री गणेशसिंह ठगुन्ना २०७० र २०७४ को चुनावमा दार्चुलाबाट निर्वाचित भएका थिए। यो पटक तेस्रो कार्यकालका लागि मतदाताले चुनाव जिताउने भनाइ एमालेका उम्मेदवार ठगुन्नाको छ। दार्चुलामा आफू निर्वाचित भएपछि भए गरेका विकास निर्माणका कामको कारण गठबन्धनका उम्मेदवार भन्दा बढी भोट लिएर चुनाव जित्ने ठगुन्नाको दाबी छ।

'विपक्षीहरूले राम्रो काम जति आफूले गरेको अनि नराम्रो भएको गणेश ठगुन्नाले गरेको भन्ने गरेका छन्,' उनले भने, 'मैले निर्वाचित भएपछि जिल्लामा धेरै काम भएको छ, जनताले गठबन्धनभन्दा हजारौँ बढी भोट दिएर नेकपा एमालेलाई जिताउँछन्।' नेपाली काँग्रेसका नेता बडूले आफू संसद र सरकारमा हुँदा जिल्लामा थुप्रै विकास निर्माणको काम गरेकाले सहजै चुनाव जित्ने दाबी गरेका छन्। गठबन्धनमा रहेका दलहरू आफ्ना उम्मेदवार जिताउन प्रतिवद्ध रहेका, मतदाताको चाहना पनि गठबन्धनलाई नै जिताउने भएकाले दार्चुलामा संघ र प्रदेशतर्फ गठबन्धनले जित्ने बडू बताए।

'गठबन्धनलाई जिताउने जनताले बताएका छन्। विकास निर्माण गर्न, संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न र नेकपा एमालेको प्रतिगमनबाट देशलाई जोगाउन दार्चुला जिल्लामा संघ र प्रदेशका उम्मेदवारले चुनाव जित्ने पक्का भइसक्यो, त्यो कुरा मंसिर ४ पछिको नतिजाले पुष्टि गर्नेछ।' नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले आफू निर्वाचित भएपछि मिचिएको नेपाली भूमि नक्सामा समेट्ने काम भएको, महाकाली करिडोरको निर्माण कार्य सेना परिचालन गरेर सुरु गरिएको, सीमा क्षेत्रमा सशस्त्र प्रहरी चौकी राख्ने काम भएको, गोकुलेश्वर विमानस्थल निर्माणको काम अगाडि बढेको दाबी गरेका छन्।

गठबन्धनका उम्मेदवारभन्दा आफूले फराकिलो अन्तरले जित निकाल्ने विश्वास ठगुन्नाको छ। 'दार्चुलामा नेकपा एमाले निकै बलियो छ, हाम्रो साथमा आम मतदाता छन्,' उनले भने, 'गठबन्धन प्रतिगामी हो जनताले भनिरहेका छन्। कम्युनिष्ट सरकार बनाउने भनेर भोट माग्ने तर काँग्रसेका देउवालाई प्रधानमन्त्री बनाउनेलाई जनाताले प्रतिगमनकारी भनेर भोट हाल्दैनन्।' गठबन्धनका उम्मेदवार बडूले दार्चुला जिल्लामा आफूले सडक, खानेपानी, विद्युत्त र विद्यालय निर्माणमा उल्लेखनीय काम गरेको दाबी गरेका छन्।

रेडियो एफएम सञ्चालन, टेलिफोन सेवाको विस्तार, अपिनाम्पा संरक्षण क्षेत्र घोषणा, महाकाली पुलको शिलान्यास जस्ता काम गरेकाले थप विकास गर्न आफूलाई जनाताले निर्वाचित गराउने बताएका छन्। यस्तै, नेकपा एमालेका उम्मेदवार ठगुन्नाले जनमत आफ्नो पक्षमा रहेको दाबी गरेका छन्।

स्थानीय तहको मतभार
गत बैशाखमा भएको स्थानीय तहको चुनावी नतिजा हेर्दा गठबन्धन भन्दा एमालेको मत बढी छ। जिल्लाका ९ स्थानीय तहका वडा अध्यक्षले पाएको मत हेर्दा गठबन्धनभन्दा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरूले ७ सय ७ मत बढी दखिएको हो। जिल्लामा नेकपा एमालेले वडा अध्यक्षतर्फ २९ हजार ३८५ मत पाएको थियो।

यस्तै नेपाली काँग्रेसले २१ हजार २५४, नेकपा माओवादी केन्द्रले ७ हजार ३०६ र नेकपा एकिकृत समाजवादीले ११८ मत पाएका थिए। गठबन्धनले कुल २८ हजार ६७८ मत पाएको थियो। यसरी स्थानीय तहमा हाराहारी मत पाएका नेकपाम एमाले र गठबन्धनबिच जिल्लामा कडा प्रतिस्पर्धा हुने देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस