सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय

२०७५ चैत्र १, १०:४६ जनक विष्ट

कैलालीमा प्रहरीले सुरक्षा सतर्कतामा कडाई गरेको दावी गरेपनि प्रदेशको अस्थायी राजधानी धनगढीमै मोटरसाईकल चोरी गर्ने गिरोह सक्रिय भएको छ। प्रहरीले सक्रियता बढाएको दावी गरेका बेला धनगढीमा दिनप्रतिदिन मोटरसाईकल चोरीका घटना बृद्धि भइरहेका छन्।

प्रहरीले केही सीमित कुराहरुलाई मात्र केन्द्रीत गरी ठुलै सफलता पाएको भन्दै लोकप्रियता कमाउने दाउपेच चलाईरहेको मौकाको उपयोग गर्दै मोटरसाईकल चोरी गर्ने गिरोहले आफ्नो सक्रियता बढाएको हो।

पछिल्लो समय घरको कमपाउण्डमा राखिएका मोटरसाईकल समेत चोरी हुन थालेपछि प्रहरीले सुरक्षा सर्तकतामा कडाई गरेको भनी झुटो प्रचार गरिरहेको आशंका व्यक्त हुन थालेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४  तारानगरका महेश जोशीले गत बीहिबार घरको कमाउण्डमा राखिएको मोटरसाईकल चोरी भएको बताए। उनले प्रहरीले सुरक्षा सर्तकता बढाएको दावी गरेपनि व्यवहारमा नदेखिएको आरोप समेत लगाए।

घरको कमपाउण्ड भित्रबाटै हुने मोटरसाईकल चोरीका घटना बढ्न थालेपछि त्यसमा ठुलै गिरोह संलग्न हुन सक्ने अनुमान गरिन थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा मंसिर यता परेका निवेदनलाई हेर्ने हो भने धनगढी उपमहानगरपालिका क्षेत्रबाट मात्र घरको कमपाउण्डमा पार्किङ गरेको अवस्थामा राखिएका १० भन्दा बढि मोटरसाईकल चोरी भएको देखिन्छ। तर प्रहरीले चोरीमा संलग्न गिरोहको नजिक पुग्न चासो नै नदिएको आरोप लागेको छ।

निवेदन लिने तर अनुसन्धान गर्न तदारुकता नदेखाउने प्रहरीको प्रवृत्तिका कारण मोटरसाईकल चोरीका घटना बढ्दै गएको मंगलवार मात्रै रातिको समयमा घरको बरण्डामा पार्किङ गरेर राखेको मोटरसाईकल चोरीएका धनगढी ५ जाईका पदमराज भट्टले बताए। प्रहरीकै भाषामा भन्ने हो भने चोरी डकैती जस्ता अपराधिक गतिविधीमा बढिजसो लागु औषध दुव्र्यशनीमा फसेका व्यक्तिहरु नै सक्रिय हुने गरेका छन्।

धनगढीमा पनि लागु औषध दुव्र्यशनीमा संलग्न युवाको संख्या धेरै रहेको स्वंयम प्रहरीले दावी गर्दै आएको छ। तर पछिल्लो समय पैसा कमाउने नियत बोकी प्रहरीले केही सीमित क्षेत्र जस्तै सवारी साधन चेकजाँच, होटलमा छापा हान्ने, मदिरा सेवन गरेकै भरमा थुनेर दुःख दिने लगायतका कुरालाई मात्र ध्यान दिएपछि लागु औषध दुव्र्यशनीमा सक्रियहरुले डेरा जमाएको हुनसक्ने पीडित भट्टले बताए।

यता कैलाली प्रहरीले भने आफूमाथी लागेका सबै आरोप गलत भएको दावी गरिरहेको छ। कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले लागु औषध दुव्र्यशनीमा फसेकाहरु नै  मोटरसाईकल चोरी लगायतका अपराधिक गतिविधीमा सक्रिय भएको देखिएकाले कडाई गरिएको जिकिर गरे।

नगरबासीले भने प्रहरीको भुमिकामा समेत खोट रहेकाले अविश्वासको वातावरण सिर्जना भइरहेको बताएका छन्। उनीहरुले प्रहरी अधिकारीले त्यसतर्फ सजग भई आम सर्वसाधारण नागरिकलाई भईपरी आउने समस्यालाई बढि महत्व दिन आग्रह गरेका छन्।   

 
 

 

 

 
    

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस