सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला पारी भारतमा बिष्फोट, एक बालकको मृत्यु

२०७९ कार्तिक ११, ०२:२४ खबर संवाददाता

धनगढी: दार्चुलामा एक बालकको ढुङ्गा लागेर ज्यान गएको छ। शुक्रबार जिल्लाको व्याँस गाउँपालिका–२ तम्पाकुका १२ वर्षीय पवन महराको ज्यान गएको हो।

उनको दार्चुलाको पारी भारतीय सिमानातर्फ पहरा फुटाउन गरिएको जिलेटिन बिष्फोटका कारण मृत्यु भएको बताइएको छ। भारत पट्टीबाट उछिट्टिएर आएको ढुंगाले लागेर उनको मृत्यु भएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए।

पहरा फुटाउन जिलेटिन बिष्फोट गर्दा उछिट्टिएको ढुंगा टाउँकोमा लाग्दा महराको घटनास्थलमै मृत्यु भएको उनले बताए।

अध्यक्ष धामीका अनुसार तिहार बिदा सक्काएर दुम्लिङस्थित विद्यालयतर्फ आउदै गर्दा बालकको मृत्यु भएको हो। यस्तै घटनामा केही स्थानीय पनि घाइते भएको उनको भनाई छ। भारत धार्चुलाको लखिमपुरस्थित सडक निर्माणमा संलग्न गर्ग एण्ड गर्ग कम्पनीले जिलेटिन बिष्फोट गरेको थियो।

यता जिल्ला प्रहरी कार्यालय दार्चुलाले ढुंगाले लागेर बालकको मृत्यु भएको जानकारी आएको तर त्यो ढुंगा पारिबाट आएको हो वा होइन त्यसबारे अनुसन्धानपछि खुल्ने जनाएको छ। घटनाबारे बुझ्न दुम्लिङस्थित प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको बताइएको छ। यहाँ नेपाल र भारतलाई महाकाली नदीले छुट्टयाएको छ।

कमेन्ट लोड गर्नुस