इजरायलद्वारा लेबनानसँगको सीमा सम्झौता अनुमोदन
एजेन्सी: इजरायल सरकारले लेबनानसँगको समुद्री सीमा सम्झौतालाई अनुमोदन गरेको छ। प्रधानमन्त्री यायर ल्यापिडको कार्यालयले आज बिहीबार एक विज्ञप्ति निकालेर दुई देशबीच भएको समुद्री सीमाङ्कन सम्झौतालाई अनुमोदन गरिएको बताएको हो।
लेबनान र इजरायलले गएको असोज २५ गते पूर्वी भूमध्य सागरको सिमाना विवाद समाधान गर्न सहमत भएको घोषणा गरेका थिए। त्यो घोषणाको संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले स्वागत गरेको छ। समुद्री सीमा विवाद अन्त्य गर्न भएको यो ऐतिहासिक सम्झौताले भूमध्य सागरमा लामो समयदेखि जारी रहेको दुई देशबीचको द्वन्द्व समाप्त भएको छ। समुद्री सीमालाई लिएर सन् १९४८ देखि दुवै देश युद्धको अवस्थामा थिए।
लेबनान र इजरायलले आफ्नो समुद्री सीमाको विवाद अन्त्य गर्न र त्यसलाई स्थायीरूपमा समाधान गर्न भएको सम्झौताको सुरक्षा परिषद्का सदस्य राष्ट्रले स्वागत गरेका हुन्। दुवै देशको यस निर्णयले मध्यपूर्वको स्थायित्व, सुरक्षा र समृद्धिमा योगदान पुग्ने विश्वास परिषद्ले व्यक्त गरेको छ।
इजरायल र लेबनानबीचको सहमतिले दुवै देश र त्यहाँका जनतालाई फाइदा पुग्ने तथा पूर्वी भूमध्य सागरमा रहेको ऊर्जा स्रोतबाट दुवै पक्षलाई समानरूपमा लाभान्वित तुल्याउन अवसर मिल्ने परिषद्ले विज्ञप्ति निकालेर जनाएको छ।