मुख्यमन्त्री कपः महिला क्रिकेटमा प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ विजयी
संघीय प्रहरी कार्यालयको खेल मैदानमा भईरहेका महिला क्रिकेट अन्तर्गतका खेलहरुमा प्रदेश नम्बर ३ र प्रदेश नम्बर ५ विजयी भएका छन् । आज भएको पहिलो खेलमा प्रदेश नम्बर ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गर्दै गण्डकी प्रदेशले २० ओभरमा ४ विकेट क्षतिमा १११ रन बनायो । उसका लागि सरुराज भण्डारीले ४७ र धना छत्यालले १८ रन बनाईन् । प्रदेश नम्बर ३ का लागि सुमन खतिवडा श्रीजल श्रेष्ठ करुणा श्री लामा र निरा राजउपाध्यायले एक एक विकेट लिईन् । ११२ रनको लक्ष्य प्रदेश नम्बर ३ ले १३ दशमलव ३ ओभरमा ३ विकेट क्षतिमा पुरा ग¥यो । उसका लागि कञ्चन श्रेष्ठले ३५ र सुमन खतिवडाले ३१ रन बनाईन् । गण्डकी प्रदेशका लागि एनेशा लामिछानेले दुई विकेट लिईन् । समुह ए मा रहेका सुदुरपश्चिम प्रदेश नम्बर ३ ले एक एक जित दर्ता गरेका छन् भने गण्डकी प्रदेश र कर्णाली प्रदेशले एक एक हार व्यहोरेका छन् ।
आज नै भएको दोस्रो खेलमा प्रदेश नम्बर ५ ले प्रदेश नम्बर २ लाई १५ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश नम्बर ५ ले २० ओभरमा ८ विकेट क्षतिमा ११५ रन बनायो । उसका लागि नितु भण्डारीले ३२ सरस्वती पुनले १८ रन बनाईन् । प्रदेश २ का लागि सरस्वती चौधरी शान्ति चौधरी अनुराधा चौधरीले दुई दुई विकेट लिईन् । विजय लक्ष्य पछ्याएको प्रदेश २ ले १९ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १०० रन मात्रै बनायो । उसका लागि अनुराधा चौधरीले ३३ रन बनाईन् । प्रदेश नम्बर ५ का लागि कृतिका मरासैनी ४ विकेट र लक्ष्मी चौधरीले ३ विकेट लिईन् । समुह बी मा प्रदेश १ २ र ५ रहेकोमा प्रदेश १ ले एक खेलमा एक जित प्रदेश २ ले एक खेलमा एक हार र प्रदेश ५ ले दुई खेलमा एक हार एक जित व्यहोरेको छ ।