सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममै पहिलोपटक धनगढीमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान हुने

उपमहानगर झिलिमिली बनाउने योजना

२०७९ कार्तिक ७, १२:३८ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिममै पहिलोपटक ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्ने भएको छ। उपमहानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने गरी लागत साझेदारीमा सुविधासम्पन्न ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिने योजना अघि बढाइएको हो। 

लाइट जडानका लागि धनगढी उपमहानगरपालिकाले विद्युत प्राधिकरणसँग सम्झौता गरिसकेको जनाएको छ। धनगढीमा अत्याधुनिक प्रविधियुक्त लाइट जडानका लागि नेपाल विद्युत प्राधिकरण आफैँले २ महिनाअघि सम्झौता गरिसकेको धनगढी उपमहानगरपालिकाका विद्युत इकाईका प्राविधिक सहायक महेशप्रसाद भट्टले जानकारी दिए।

‘धनगढीको ६० र विद्युत प्राधिकरणको ४० प्रतिशत लागत साझेदारीमा ‘स्मार्ट स्ट्रिट लाइट’ लाइट जडानका लागि उपमहानगरले एक करोड रुपैयाँ प्राधिकरणलाई पठाइसकेको छ।’ निर्वाचन अगावै लाइट जडान हुने गरी प्रक्रिया अघि बढाइसकेको उपमहानगरको दाबी छ। 

स्मार्ट स्ट्रिट लाइट जनघनत्व बढी भएका स्थानमा बहुआयामिक लाइट जडान गरिनेछ। सुदूरपश्चिममै पहिलोपटक रातिको समयमा बत्ती वरपर उपस्थिती हुँदा सोही अनुसारको बढी उज्यालो हुने र भिड कम हुँदा आफै बत्ती डिम हुने प्रविधियुक्त बत्ती मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रमा जडान गरिनेछ।

पहिलो चरणमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्न २ करोड ६८ लाख ६८ हजारमा ठेक्का सम्झौता गरिएको बताइएको छ। यसका साथै धनगढी विमानस्थल चोक, राजपुर चोक, धनगढी चौराह, भन्सार लगायत बढी जनघनत्व भएका स्थानमा हाइमास्ट लाइट जडानको योजनासमेत रहेको उपमहानगपालिकाले जनाएको छ।

पुराना बत्तीलाई विस्थापति गरी चोकचोकमा नयाँ बत्ती लगाउने उपमहानगरको योजना छ। निर्वाचनअघि नै काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढेको उपमहानगरले जानकारी दिएको छ। उपमहानगरपालिका क्षेत्रभित्र पर्ने मोहनापुल–अत्तरिया ६ लेन सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि विद्युत प्राधिकरण आफैले सम्झौता गरिसकेकाले प्राधिकरणको प्राविधिक टोलीले सर्भे गरेपछि लाइट जडानको काम थालिने छ। 

कमेन्ट लोड गर्नुस