सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर भन्सार हुँदै बर्षेनी करिब एक अर्बको चामल आयात

२०८२ पुष ३, ०६:१६ खबर संवाददाता

धनगढीः नेपालमा उत्पादित धानले उचित मूल्य र बजार नपाइरहेका बेला भारतबाट चामल आयात भने निरन्तर बढ्दो क्रममा रहेको छ। कैलालीको त्रिनगर भन्सार नाका हुँदै मात्र बर्षेनी करिब एक अर्ब रुपैयाँ बराबरको चामल आयात हुने गरेको तथ्यांकले देखाएको छ।

कैलाली भन्सार कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको पछिल्लो चार महिनामै त्रिनगर नाकाबाट १९ करोड ७५ लाख ५४ हजार रुपैयाँ मूल्य बराबरको ३४ लाख ५२ हजार किलो चामल आयात भएको छ। साउनदेखि कात्तिकसम्मको अवधिमा यहाँका गल्ला व्यापारीहरूले भारतबाट ठूलो परिमाणमा चामल भित्र्याएका हुन्।

भन्सार कार्यालयका भन्सार अधिकृत तेज रावलका अनुसार चामल आयात चालु महिनामा पनि उच्च दरमै भइरहेको छ। उनका अनुसार गत आर्थिक वर्षमा मात्र त्रिनगर नाकाबाट ८९ करोड ६४ लाख रुपैयाँ मूल्यको एक करोड २६ लाख ५१ हजार किलो चामल आयात भएको थियो। उनका अनुसार भारतबाट सस्तो मूल्यमा चामल उपलब्ध हुने र नाफा बढी हुने भएकाले व्यापारीहरूले त्यतैबाट चामल आयात गर्न रुचि देखाएका छन्।  

भारतबाट ठूलो मात्रामा चामल आयात हुँदा नेपाली किसान भने प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। यहाँका किसानले उत्पादन गरेको धानले उचित मूल्य र बजार बजार पाएको छैन । परिणामस्वरूप किसानहरू घाटामा परिरहेका छन्।
भन्सारको तथ्यांकअनुसार पछिल्ला दुई वर्षयता त्रिनगर नाकाबाट चामल आयात ह्वात्तै बढेको देखिन्छ। आर्थिक वर्ष ०८०÷८१ मा पाँच करोड ९३ लाख रुपैयाँ मूल्यको ६ लाख १० हजार किलो चामल आयात भएकोमा चालु आर्थिक वर्षको चार महिनामै त्यसको झण्डै चार गुणा बराबरको चामल आयात भइसकेको छ। कृषि ज्ञान केन्द्र कैलालीका वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर विष्टले मसिनो चामलको उपभोग बढ्दै जानु र यहाँका किसानले मोटो धान बढी उत्पादन गर्नु आयात वृद्धिको मुख्य कारण रहेको बताए। 

“भारतमा चामल सस्तो पर्छ, त्यसमाथि यहाँ मसिनो चामलको माग बढी छ। तर किसानले मोटो धान लगाउँदा बजारमा प्रतिस्पर्धा गर्न सकेका छैनन्,” उनले भने। मसिनो धान उत्पादन बढाउन उत्पादनका आधारमा अनुदान दिने व्यवस्था सुरु गरिएको पनि उनले जानकारी दिए।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयका प्रमुख थापाले भारतले आफ्ना खाद्य गोदामहरू खाली गर्ने नीतिका कारण पनि चामल आयात बढेको बताए। “भारतले दुई–तीन वर्षमा गुणस्तर घट्नुअघि गोदाम खाली गरेर चामल निर्यात गर्छ। गत वर्ष त्यसरी गोदाम खाली हुँदा नेपालमा ठूलो मात्रामा चामल आयात भएको देखिन्छ,” उनले भने। सिधै चामल आयात गरेर बिक्री गर्दा व्यापारीलाई सजिलो र नाफामूलक हुने भएकाले पनि आयात बढेको उनको भनाइ छ।

यसरी चामल आयात निरन्तर बढिरहँदा स्वदेशी धान उत्पादनको खपत नहुनु, किसानले उचित मूल्य नपाउनु र कृषि पेशाप्रति आकर्षण घट्दै जानु गम्भीर चुनौतीका रूपमा देखिएको सरोकारवालाहरू बताउँछन्। दीर्घकालीन समाधानका लागि धानको उत्पादन, भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा सरकारी तहबाट प्रभावकारी नीति आवश्यक रहेको उनीहरूको सुझाव छ। 
 

कमेन्ट लोड गर्नुस