सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा स्थानीयले जलाए प्लाष्टिकको माला

२०७९ कार्तिक ४, ११:१५

धनगढी :  कैलालीको लम्कीमा स्थानीयले भारतबाट आयात गरिएको प्लाष्टिकको माला जलाएका छन्। प्लाष्टिकको माला अर्थतन्त्र, स्वास्थ्य र वातावरणका लागि घातक भएको भन्दै स्थानीयले माला जलाएका हुन्। 

तिहारमा प्लाष्टिकको मालाको अत्यधिक प्रयोग हुँदा स्थानीय पुष्प व्यवसायीले उत्पादन गरेको फूल बिक्री नहुने तर भारतबाट आयात गरेको लाखौको प्लाष्टिक र रसायनको माला निर्वाध बिक्री वितरण हुने गरेको भन्दै स्थानीयले आयात गरिएको माला जलाएको बताएका छन्।

घोडालाई लगाउने मालाको कारण नेपाली जैविक फूलको मालाले बजार नपाएको, प्लाष्टिकको मालामा हुने घातक रसायन स्वास्थ्य र वातावरणका लागि ठीक नभएको भन्दै माला जलाइएको जिल्ला  सम्वनय समिति कैलालीका पूर्व प्रमुख सूर्यबहादुर थापाले बताए।
नेपाल सरकारले गत साउन १२ गते राजपत्रमा  प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने सूचना प्रकाशन गरे पनि त्यसको कार्यान्वयन भने गरिएको छैन।

सुदूरपश्चिमका धनगढी, महेन्द्रनगरलगायत बजारमा आयातित प्लाष्टिकजन्य फूलको मालाको बिक्री वितरण भइरहेको छ। व्यापारीहरूले कैलाली भन्सारबाट सजावटका सामान शिर्षकमा प्लाष्टिकजन्य फूलमाला निर्वाध आयात गरिरहेको पाइएको छ।

कैलाली भन्सारका अधिकारीहरूले भने प्लाष्टिकजन्य फूलका माला आयातमा रोक लगाएको दाबी गरेका छन्। तर धनगढीका व्यापारीले भने भन्सार तिरेर सामान आयात गरिरहेको बताएका छन्।


 

कमेन्ट लोड गर्नुस