सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा दलितमाथि कुटपिट गर्ने वडाध्यक्षसहित ३ जना धरौटीमा छुटे

२०७९ कार्तिक ३, १०:४४ खबर संवाददाता

धनगढी: बाजुरामा दलित समुदायका एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षसहित ३ जना धरौटीमा छुटेका छन्। प्रहरीका अनुसार त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीसहित मन्दिरका पुजारी रंगलाल पाध्याय र सोही ठाउँका विनोद अयडी एक/एक लाख धरौटीमा छुटेका हुन्।

बिहीबार थुनछेक बहसपछि जिल्ला अदालतले गरेको आदेशअनुसार उनीहरु एक/एक लाख धरौटी बुझाएर छुटेका बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाले बताए।

गत असोजमा त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला मन्दिर प्रवेश गरेको भन्दै कञ्चनपुरका टेकेन्द्र सुनारमाथि जातीय छुवाछुत गर्दै निर्घात कुटपिट गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए। पीडित सुनारले जातीय भेदभाव तथा छुवाछुत समबनधी मुद्दा दर्ता गराएका थिए।

कमेन्ट लोड गर्नुस