ब्याजदर घटाउन माग गर्दै कैलाली चेम्बर अफ कमर्सेले बुझायो ज्ञापन पत्र
धनगढीः कैलाली च्याम्बर अफ कमर्सले ब्याजदर घटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ। कैलाली चेम्बर अफ कमर्सले ब्याजदर घटाउन माग गर्दै नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय धनगढी, जिल्ला प्रशासन कार्यालय कैलाली र भन्सार कार्यालय धनगढीलाई ज्ञापन पत्र बुझाएको हो।
बिहीबार कैलाली चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्स र गौरीगंगा चेम्बर अफ कमर्सले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन्। अहिले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन उच्च ब्याजदरले सम्भव नदेखिएकाले ब्याजदर घटाउन माग गरिएको छ। ज्ञापन पत्रमा ब्याजदर नियन्त्रणका लागि स्प्रेडदर १ प्रतिशत घटाएर ३.४ मा झार्नु पर्ने, बैंकहरूको आधार दरलाई न्यूनतम विन्दुमा कायम गरिनुपर्ने, कर्जामा आधारदरको अधिकतम २ प्रतिसतसम्म प्रिमियम थप हुने गरि व्यवस्था गरिनुपर्ने माग गरिएको छ।
ज्ञापन पत्रमा सीसीडी अनुपात ९० प्रतिसतबाट घटाएर विगत झै कायम गरिनुपर्ने, पुँजीगत खर्च समयमै गर्नुपर्ने, सीमानाकामा कडाई गर्नुपर्ने जस्ता माग राखिएको छ। कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्ल नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका निर्देशक विनोद लेखक, जिल्ला प्रशासन कार्यालका प्रशासकीय अधिकृत शिवराज जोशी र कैलाली भन्सार कार्यालयका अधिकृत भीमराज आङ्देङबेलाई ज्ञापन पत्र बुझाएको हो।