कोरोना बिमाको एक अर्ब ८१ करोड भुक्तानी दिइँदै
काठमाडौँ– कोरोना बिमाका बिमितले पहिलो चरणमा एक अर्ब ८१ करोड भुक्तानी पाउने भएका छन्।
सरकारले एक अर्ब रुपैयाँ निकासा गरिदिएपछि बिमा समिति, पुनर्बिमा कम्पनी र बिमा कम्पनीहरूले संकलन गरेको थप ८१ अर्ब रुपैयाँसहित कुल १ अर्ब ८१ करोड रुपैयाँ बिमितलाई भुक्तानी दिन लागिएको हो।
बिमा कम्पनीहरूले कोरोना बिमाको भुक्तानी रोकेको करिब डेढ वर्षपछि त्यसमा पनि भुक्तानी दिन बाँकी रकमको १७ प्रतिशत मात्रै चुक्ता गर्न लागेका छन् । बिमा कम्पनीहरूले २०७८ चैतदेखि कोरोना बिमाको दाबी भुक्तानी रोकेका थिए। कम्पनीहरूले करिब सवा लाख जना बिमितलाई करिब साढे १० अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ।
त्यसमध्ये पहिलो चरणमा पौने २ अर्ब रुपैयाँ वितरण गरिने र सरकारले थप रकम दिएसँगै चरणबद्ध रूपमा बाँकी रकम पनि भुक्तानी गर्दै जाने बिमा समितिले बताएको छ।