सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरा गएर स्वर्ण पदक जितेका सुदूरपश्चिमका खेलाडी बाटोमै अलपत्र

२०७९ कार्तिक १, ०९:५४ खबर संवाददाता

धनगढी: पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुन गएका सुदूरपश्चिमका खेलाडी अलपत्र परेका छन्। कैलाली, कञ्चनपुर र दार्चुलाबाट कुस्ती खेल्न गएका खेलाडी नवलपुरमा अलपत्र परेका हुन्। 

कुस्तीका प्रशिक्षक राजेन्द्र चन्दका अनुसार यातायातको व्यवस्थापन पक्षले गाडीको उचित व्यवस्था मिलाउन नसक्दा उनीहरु अलपत्र परेका हुन्। आफूहरुका लागि रिजर्ब गाडी पठाउने भनिएको भएपनि यात्रु बोकेको गाडी पठाइएको उनले बताए। 

'हाम्रा लागि रिजर्ब गाडी पठाउने भन्ने कुर थियो। अहिले यात्रु र पेन्टका डब्बा भएको गाडी पठाइएको छ,' उनले भने। चन्दले २० जना खेलाडी, दुई जना कोच र एक जना व्यवस्थापक गरेर आफूहरु जम्मा २३ जना रहेको र गाडीमा आफूहरुका लागि पर्याप्त सिट नभएको बताए। ४ जना खेलाडी घाइते पनि भएका र दुई जनाको हातको अप्रेशन गर्नुपर्ने अवस्थाका पनि भएका हुँदा उक्त गाडीमा आउन आफूहरुलाई समस्या हुने उनले बताए। 

उता पोखरामा रहेका यातायात व्यवस्थापनको जिम्मेवारी पाएका कर्णबहादुर सिंहले भने गाडीमा पर्याप्त सिट भएको दाबी गरेका छन्। उनले चन्दले नै उक्त गाडीमा बस्न नमानिरहेको बताएका छन्। अर्को गाडी पठाउन सकिने अवस्था नभएको र सिट कमै परे अर्को व्यवस्था गर्न सकिने तर गाडीमा सिट पर्याप्त नै रहेको बताए। 

'गाडीमा उनीहरु सबै अटाउने जति सिट छ। बस्न मानिरहेका छैनन्। अहिले अलगै अर्को पनि गाडी गर्न सकिने अवस्था हामीसँग छैन। त्यो गाडीमा सिट छ। बसेर हेरुन्। भएनछ भने अलपत्र पर्दैनन्, अर्को व्यवस्था गरौँला,' उनले भने।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला कुस्तीमा सुदूरपश्चिम प्रदेशले पाँच स्वर्ण पदक जितेको छ।

सम्बन्धित समाचार

महिला कुस्तीमा सुदूरपश्चिमलाई ५ स्वर्ण

कमेन्ट लोड गर्नुस