सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम देशकै तेस्रो पूर्ण खोप सुनिश्चितता भएको प्रदेश घोषणा

२०७९ असोज ३०, १०:१६ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेशलाई देशकै तेस्रो पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिमलाई पूर्ण खोप सुनिश्चितता भएको प्रदेश घोषणा गरेका हुन्। सर्वप्रथम २०६९ पुस १४ गते अछामको भागेश्वर गाउँ विकास समितिलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएपछि यो अभियानले निरन्तरता पाएको छ।

नेपालमा खोपको माध्यमबाट २०३४ मा विफर उन्मुलन भएपछि विस्तारित खोप कार्यक्रम सुरु गरेर थालिएको राष्ट्रिय खोप अभियान अहिले पनि सञ्चालन छ। राष्ट्रिय खोप अभियानअन्तर्गत हाल सुदूरपश्चिमसहित देशभर विभिन्न १३ किसिमका रोग विरुद्ध खोप कार्यक्रम सञ्चालनमा छ।

सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय खोप केन्द्रबाट प्रदेशका ८१ हजार ११४ बालबालिकाले नियमित खोप प्राप्त गरिरहेको बताइएको छ। सर्वप्रथम सुदूरपश्चिमबाट पूर्ण खोप अभियान सञ्चालन भएको थियो। सुदूरपश्चिम प्रदेशको खोप सम्बन्धि अवधारणा नेपालभर सञ्चालनमा आएको र अहिले विश्वव्यापी प्रयोगमा रहेको सुदूरपश्चिमका पूर्व स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।

"हामीले सुरुमा अछामको भागेश्वर गाउँ विकास समितिलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरेका थियौँ," उनले भने, "त्यसपछि अन्य गाविस हुँदै सर्वप्रथम २०७१ मा अछाम जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएको थियो, अहिले यो अभियान देशैभर लागू भएर सुदूरपश्चिम पूर्ण खोपयुक्त घोषणा हुनेमा तेस्रो प्रदेश भएको छ।" भागेश्वर गाविस पूर्ण खोपयुक्त घोषणा भएपछि सर्वप्रथम अछाम जिल्लालाई २०७१ भदौ २८ पूर्ण खोप युक्त घोषणा गरिएको थियो भने सबैभन्दा पछि डोटी जिल्लालाई २०७५ जेठ १९ मा पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको थियो।

सुदूरपश्चिमबाट सबै बालबालिकालाई अनिवार्य सबै रोग विरुद्ध खोप लगाउने अभियानलाई नेपाल सरकारले अपनत्व ग्रहण गरेर देश व्यापी सञ्चालनमा ल्याएको छ। सुदूरपश्चिमको पूर्ण खोप लगाउने अवधारणा अहिले विश्वव्यापी रुपमै अभ्यासमा आउनु सुखद भएको डाक्टर अवस्थीको भनाइ छ।

देशमा पहिलोपटक सबै बालबालिकालाई समयमै सबै खोप प्रदान गरि पूर्ण खोपयुक्त बनाउने कार्यको थालनी गरेको श्रेय सुदूरपश्चिम प्रदेशलाई जान्छ। अहिले सुदूरपश्चिमका ८८ पालिकाका ७३४ वटै वडाहरूमा खोप लगाएको अवस्थाको समीक्षा गर्दै वडातहदेखी पालिका र जिल्ला हुँदै शुक्रबार प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डाक्टर जगदीश जोशीले बताए।

"सबै बालबालिकालाई पूर्ण खोप लगाउने सरकारको पहिलो प्राथमिकता छ," उनले भने, "पूर्ण खोप दिएर, बाल मृत्युदर कम गर्ने र स्वास्थ्य सम्बन्धि मौलिक हक प्रदान गर्न सरकारले काम गरिरहेको छ।" सरकारले ३२ महिनासम्मका बालबालिकालाई बिसिजी, रोटा भ्याक्सिन, पिसिभी, डिपिटी,हेपाटाइटिस बी, दादुरा, रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइड जस्ता १३ किसिमका खोप दिने गरेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस