सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीले राजधानी पहाड लग्छु भन्नु जनताको अपमान होः लेखराज भट्ट [अन्तर्वार्ता]

२०७९ असोज २९, ०६:४५ टेकसिंह धामी

धनगढीः सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली क्षेत्र नम्बर ४ अहिले चर्चामा छ। उक्त निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र नेकपा एमालेले २ ‘हेबी वेट’ नेताहरुबीच भिडन्त हुने भएको छ। सोही कारण क्षेत्र नम्बर ४ लाइै सबैले चाँसोका साथ हेरिरहेका छन्।  

यहाँ प्रतिनिधि सभातर्फ एमालेका सचिव, पूर्वमन्त्री तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र गठबन्धनका तर्फबाट पूर्वमन्त्री एवं काँग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर चुनावी मैदानमा आमने–सामने भएका छन्।
नेताद्वय भट्ट र बलायर आमने–सामने भएसँगै कैलालीसहित सुदूरपश्चिमको राजनीतिमा तरंग छाएको छ। उनीहरु दुवैबीचको चुनावी प्रतिस्पर्धालाई लिएर विभिन्न चर्चाहरु समेत भइरहेका छन्। 

भट्टको पुख्यौली घर डोटी हो। उनी विस २०३० सालबाट राजनीतिमा प्रवेश भएका थिए।  उनी तत्कालीन मोहनबिक्रम सिंहको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीसँगै नेकपा (मसाल) र नेकपा (एकता केन्द्र) मा सामेल भई नेकपा– माओवादीको एक पूर्ण–समय सदस्य बनेका थिए। माओवादीमा उनी सुदूरपश्चिमको कमाण्डर नै बनेका थिए। उनी माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा ६ महिना जेल पनि परेका थिए।

भट्ट २०६४ देखि संसदीय चुनाव लड्दै आएका छन्। उनी पूर्वमन्त्री समेत हुन्। उनले नेकपा माओवादी केन्द्रबाट पहिलोपटक २०६४ सालको संविधानसभा सदस्यको चुनाव लड्दा कांग्रेसका दीर्घराज भाटलाई करिब साढे ४ हजार मतान्तले पराजित गरेका थिए।

२०७० को चुनावमा भने काँग्रेस नेता भाटले नेता भट्टलाई पराजित गरेका थिए। २०७४ सालमा भट्टले काँग्रेसका सुनिल भण्डारीलाई झण्डै ११ हजार मतान्तरले जितेका थिए। त्यो बेला वामगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका भट्टले ३१ हजार ३५९ र भण्डारीले २० हजार ९६० मत पाएका थिए। त्यसपछि एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाको एकता भंग भएपछि भट्ट माओवादी केन्द्रमा फर्किएनन्, उनी एमालेमै बसेका छन्। 

प्रस्तुत छ उनै भट्टसँग समसामयिक विषयवस्तुमा दिनेशखबरका लागि टेकसिंह धामीले गरेको कुराकानीः

तपाईंको उम्मेदवारीको औचित्य के हो ? 
मेरो उम्मेदवारी ४ नम्बर क्षेत्र मात्रै होइन, समग्र सुदूरपश्चिमको विकास र अधिकारका लागि हो। सदियौंदेखि जो अधिकारबाट वञ्चित भएका छन्। उहाँहरुको अधिकारका लागि। जुन २०७२ सालको संविधानले आम नेपाली जनतालाई अधिकारले सम्पन्न गरको छ। त्यो अधिकारलाई व्यवहारमा लैजानका लागि त्यसको स्प्रिटलाई बुझ्ने नेतृत्वको आवश्यक पर्दछ। 

यस्तै अहिले राष्ट्रियताका लागि नेकपा एमाले आवश्यक छ। राष्ट्रभन्दा ठूलो कोही पनि हुँदैन। राष्ट्रियता, सार्वभौमिकता र लोकतन्त्रको जर्गेना गर्नसक्ने पार्टी भनेको एमाले नै हो। त्यसकारण एमालेलाई विजयी नगराइकन, एमालेले सरकार निर्माण नगरिकन देशको पक्षधरता लिन सक्दैन।

र, यतिखेर फेरि सुदूरपश्चिमको विकासको लागि मेरो उम्मेदवारी हो। यहाँका जनताको अधिकार, यहाँको औद्योगिकरणको लागि, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीका साथै मेरो उम्मेदवारी एउटा सुदृढ विचार र विकासको भिजनको लागि हो। यो क्षेत्रका नागरिकको अपेक्षा पूरा गर्न मेरो प्रयत्न हुनेछ। 

तपाईं विगत २०६४ सालदेखि विभिन्न दलबाट संसदीय चुनावमा उम्मेदवार रहनुभयो। दुईपटक त यहाँका जनताले जिताएर संसदमै पठाए। यो पटक फेरि किन तपाइ नै उम्मेदवार ? 
यसपटक किन भने विगतमा मैले थुप्रै योजनाहरु सुरु गरेको थिए। ती अधिकांश योजनाहरु अहिलेसम्म पूर्ण हुन सकेका छैनन्। जस्तो, दोधाराचाँदनीको सुक्खा बन्दरगाह, मेडिकल कलेजलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने र यहाँ पठनपाठनदेखि लिएर उपचार सु–सम्पन्न गराउन आवश्यक छ। 

त्यसैगरी हरैया विशेष व्यापार क्षेत्र भनेर हामीले डिपीआर पुरा गरेका छाै। त्यसलाई पूर्णता दिन, धनगढी, गोदावरी औद्योगिक क्षेत्र, डुडेझाडी औद्योगिक क्षेत्र लगायतका यातायात क्षेत्रमा जस्तो सेती लोकमार्ग, खुटिया दीपायल फास्ट ट्र्याक, उरै जाने नाका ताक्लाकोटसम्म पुगाउने, महाकाली करिडोरजस्ता योजनाहरु दीर्घकालीन महत्वका छन्। यस्ता योजनाहरुले यो क्षेत्रको व्यापार, पर्यटन रोजगारीको क्षेत्रमा ठूलो योगदान दिन्छन्। त्यसका लागि पनि मेरो उम्मेदवारी दोहरिएको हो। 

यो क्षेत्रमा सत्तारुढ गठबन्धनमा पाँच दल एकातर्फ र एमाले एक्लै चुनावमा होमिएको छ। कस्तो परिणामको अपेक्षा गर्नुभएको छ ? 
मैले अहिले एमालेबाट चुनाव लडिरहेको छु। तर, विकासको लागि पार्टी विशेष मात्रै नभएर सम्पूर्ण जनताहरु मसँग छन्। म सबैको साझा उम्मेदवार हुँ भन्ने लाग्छ। त्यो भएर यो क्षेत्रका जनताले पार्टीभन्दा पनि मेरो सर्मपण र यो क्षेत्रप्रतिको योगदानलाई हेर्ने छन्। हिजो पनि साथ सहयोग पाएको थिए।

जनयुद्ध लड्दा पनि जनताबाट सहयोग, समर्थन र साथ पाएको थिए। त्यसपछि शान्ति प्रक्रियामा आएपछि पनि मैले सहयोग र समर्थन पाएको थिए। फेरि पनि यो निर्वाचनमा त्यही जनताको साथको विश्वास लिएर चुनावी मैदानमा आएको छु। र, साथ सहयोग पाउने दुढ विश्वास लिएको छु। 

तपाईंलाई आफ्नो मुख्य प्रतिस्पर्धी को होला जस्तो लाग्छ ? 
अहिले मलाई प्रतिस्पर्धी नै छैन जस्तो लाग्छ। म कसैको व्यक्तिगत टिकाटिप्पणी गर्न चाहन्न। सबैले आफ्ना उम्मेदवार उठाएका छन्। तर, जनताले मलाई साथ दिन्छन्। त्यै भएर जनता मसँग भएपछि त प्रतिस्पर्धी भन्ने हुँदैन। 

अहिले तपाई पार्टी छोडेर एमालेतिर लाग्नुभएको छ। कतिले अवसर र स्वार्थका लागि एमालेमा गएको पनि भनेका छन्। यसको असरबारे केही लेखाजोखा गर्नुभएको छ ? 
पहिलो कुरा त के हो भने नेपाली कम्युनिष्ट आन्दोलन टुटफुटबाट २०७५ जेठ ३ गते फेरि एउटा ठूलो एकतामा परिणत भएको थियो। प्रचण्ड लगायत कम्युनिष्ट नेताहरु हामीले विश्व कम्युनिष्ट आन्दोलनमा एउटा गौरवशाली अध्याय सुरु भएको भन्यौं। तर, नेतृत्वहरुका स्वार्थले पार्टीलाई पुनः विभाजनतिर लगे। र, हामी, म लगायत थुप्रै नेतृत्व तथा नेता कार्यकर्ताहरुले नेकपाको निरन्तरता चाह्यौ।। 

यो एकताको नयाँ एमाले हो। म कतै गएको होइन, म त यहाँ कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा उभिएको छु। अब स्वार्थको कुरो गर्नुपर्दा म मन्त्री र सांसद पद गुमाएर यसमा लागेको हुँ। स्वार्थ भएको भए त यस्तो हुन्थेन। त्यही भएर स्वार्थ होइन, अहिलेको आवश्यकता, कम्युनिष्ट आन्दोलनको मुल प्रवाह र मुख्य शक्तिलाई बलियो बनाएर हाम्रो संविधानको समाजवाद उन्मुख कार्यान्वयनको लागि एमाले नै उत्तम पार्टी हो भन्ने विश्वाससहित म यहाँ आएको हो। मेरो व्यक्तिगत स्वार्थ केही छैन। 

तपाईं एमालेको केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज पनि हुनुहुन्छ। संसदीय चुनावमा समग्रमा प्रदेशको नतिजा कस्तो आउला ?
हामी जनतामा आएका छौं। नयाँ जनादेश लिने कुरा छ। जनताप्रति हाम्रो सर्मपण छ। देश र मुलुकप्रति प्रतिवद्ध छौं। ‘समृद्ध नेपाल सुखी नेपाली’को अपेक्षा र हाम्रो नारा छ। त्यसलाई कार्यान्वयनमा लैजान यहाँ सकरात्मक नतिजा आउँछ। हिजो एमालेको सरकारले गरेका कामहरु लगेर हामी जनतामा आएका छौं। अहिलेको गठबन्धन सरकारका कारण भए गरेका काम कुरा जनताले बुझेका छन्। अर्थतन्त्र डामाडोल छ, महँगी बढेको छ। यी सबै कुराले यतिखेर नेपाली जनता एमालेप्रति निकै विश्वस्त छन्। 

सुदूरपश्चिमका विभिन्न क्षेत्रहरुमा टिकट वितरण लयागतका विषयमा एमालेभित्र तीब्र असन्तुष्टि छ। तपाईंकै क्षेत्रमा पनि त्यस्तो अवस्था देखिन्छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? 
पार्टीभित्र विभिन्न विपरीत विचारहरु पनि हुन्छ। पार्टीमा सबै नेता तथा कार्यकर्ताले अपेक्षा राख्नु स्वभाविक हो। तर, पार्टीको निर्णय मान्नुपर्छ। मलाई लाग्छ, केही खटपट भएपनि सबै पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको निर्णयलाई मान्ने कुरामा दुविधा छैन। 

तपाईं निर्वाचन लड्न लागेको क्षेत्रमै सुदूरपश्चिमको स्थायी राजधानी तोकिएको अवस्था छ। तर, प्रदेश सरकारको कार्यकाल नै सकिएपनि कुनै भौतिक संरचना निर्माण तथा अन्य प्रगति भएको छैन। बेलाबखतमा विभिन्न राजनैतिक दल तथा प्रधानमन्त्री (शेरबहादुर देउवा) समेतले पनि राजधानी सार्ने कुराहरु गरिरहन्छन्। तपाईंको चाही राजधानीको सवालमा के भूमिका हुन्छ ? 
पहिलो कुरो त यो राजधानी यहाँ ल्याउनुपर्छ। तत्कालीन समयमा पहाडबाट मुख्यमन्त्री बनाउने र राजधानी यहाँ बनाउने निर्णय दृढतापूवक गरियो। त्यो सही थियो। र, प्रदेश सरकारले राजधानीलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने थियो। तर, त्यो गर्न सकेन। त्यो जनतासामु छँदैछ। 

अहिले प्रधानमन्त्री लगायत उहाँको पार्टी (नेपाली काँग्रेस) का नेताहरुले यसलाई पहाड लग्नुपर्छ भन्नु सुदूरपश्चिमका जनताको अपमान हो। किन भन्दा हिजो दुई तिहाईको मतले यहाँ राजधानी गोदावरीमा भनेर निर्णय गरेको छ।
संसदबाट पारित निर्णयको पनि अपमान हुन्छ। र, दोस्रो कुरो अहिले भूमिको समस्या र अव्यवस्थित बसोबासका कारण राजधानी निर्माणमा सकस भएको हो।

अब हाम्रो एमालेको सरकार आयो भने जनतालाई भूमिको मालिक बनाएर राजधानी निर्माण गर्ने कुरामा मेरो महत्त्वपूर्ण भूमिका रहन्छ। राजधानी यहाँ भइसकेपछि पहाडका जनतालाई पनि कसरी सुविधा दिने भन्ने कुरामा हामी लाग्छौं।  

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस