डडेल्धुरामा ‘दिजगंगा मेमोरियल’ टी–२० क्रिकेट प्रतियोगिता सुरु
डडेल्धुराः डडेल्धुरामा प्रथम दिजगंगा मेमोरियल पुरुष टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। शनिबार एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका हुन्।
प्रतियोगिता अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा सञ्चालन भइरहेको छ। डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा जिल्लाका सातवटै स्थानीय तहका टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद ५१ हजार र उपविजेता टिमले नगद २५ हजार ५ सय ५१ रुयैयाँका साथै ट्रफी पाउने आयोजकले जनाएको छ। असोज १२ गतेदेखि हुने भनेको खेल वर्षाका कारण २९ गतेदेखि सुरु भएको हो।
यसैबीच, आजको पहिलो खेलमा अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाबीच प्रतिष्पर्धा भइरहेको छ। अमरगढी नगरपालिकाले टस जित्दै ब्याटिङ रोजेको छ भने भागेस्वरले फिल्डिङ गरिरहेको छ।