सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब डोटी फर्कदैन, ६ महिनाभित्रै गोदावरीमा राजधानीः वीरबहादुर बलायर [अन्तर्वार्ता]

२०७९ असोज २८, ०६:४१ टेकसिंह धामी

धनगढी: सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली क्षेत्र नम्बर ४ अहिले चर्चामा छ। कारण, संसदीय निर्वाचन तथा त्यहाँ चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु।

उक्त निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र नेकपा एमालेले २ ‘हेबी वेट’ नेताहरुबीच भिडन्त गराउने भएको छ। यहाँ प्रतिनिधि सभातर्फ एमालेका सचिव, पूर्वमन्त्री तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र गठबन्धनका तर्फबाट पूर्वमन्त्री एवं काँग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर चुनावी मैदानमा आमने–सामने भएका छन्।

नेताद्वय भट्ट र बलायर आमने–सामने भएसँगै कैलालीसहित सुदूरपश्चिमको राजनीतिमा तरंग छाएको छ। उनीहरु दुवैबीचको चुनावी प्रतिस्पर्धालाई लिएर विभिन्न चर्चाहरु समेत भइरहेका छन्। कैलाली क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा रोचक हुने आकलन पनि गरिएको छ। 

बलायरको पुख्यौली घर डोटी हो। विसं २०२२ साल भदौ ४ गते डोटी लाटामाण्डौं–६ मा मध्यमवर्गीय परिवारमा जन्मिएका बलायरले गणितमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्। परिवारिक पृष्ठभूमि पश्चात राजनीतिक यात्राको चर्चा गर्दा ३ वर्ष ६ महिना बन्दी जीवन बिताएका बलायर ०४६ सालको जनआन्दोलनताका निकै चर्चित विद्यार्थी नेता थिए। 

नेता बलायर नेपाली काँग्रेसको डोटी जिल्ला सभापति, नेपाली काँग्रेस केन्द्रीय सदस्य,  २०६४ सालको संविधानसभा २०६४ को उम्मेदवार हुँदै  २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा डोटी (१) बाट निर्वाचित हुँदै सविधानको हस्ताक्षरकर्ता समेत हुन्। देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट डोटी (१) बाट प्रत्यक्ष निर्वाचित सांसद भएपछि बलायरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी प्रधानमन्त्री शेरबहादुर देउवाका साथै देउवा पत्नी आरजु देउवाको पनि विश्वास पात्र मानिन्छन्। 

प्रस्तुत छ उनै बलायरसँग समसामयिक विषयवस्तुमा दिनेशखबरका लागि टेकसिंह धामीले गरेको कुराकानीः

डोटीमै उम्मेदवार बन्ने रटानमा रहनुभएका तपाईं कैलाली झरेर उम्मेदवारी दिने अवस्था कसरी आयो ? 
मैले यहाँ उम्मेदवारी मागेको होइन। तर, पार्टीको निर्णय र पार्टीले निर्णय गरिसकेपछि एउटा राजनीतिकर्मी भएका नाताले पार्टीको निर्णयलाई मैले अवज्ञा गर्न मिल्दैन। त्यसलै मेरो उम्मेदवारी यहाँ भएको हो। साथै यो मेरो राजनीतिक जीवनको प्रारम्भिक चरण बिताएको ठाउँ पनि हो। र, मेरो घर परिवार सबै यहाँ भएको ठाउँ भएकाले पार्टीले यस्तो निर्णय गरेको हुनसक्छ। मलाई नौलोपन छैन। यद्यपी मलाई गठबन्धनका कारण डोटीबाट यहाँ आउनुको पीडा पनि छ। यो मेरो कारणले मात्रै भएको होइन। म पार्टीको इमान्दार र बफादार कार्यकर्ता र सिपाही भएकाले पार्टीको निर्णयलाई मैले आत्मसात गरेको हुँ। 

कैलाली क्षेत्र नम्बर ४ बाट संसदीय चुनावमा होमिनुभएको छ । यहाँका मतदाता, नागरिकले तपाइलाई मत किन दिने ? यसका आधारहरु के हुन् ? 
यसका त धेरै कारण र आधार छन्। ती कारणले हो भने त सबैले मलाई मत हाल्नुपर्छ। म निस्वार्थ भावनाबाट राजनीतिमा लागेको हो। म एउटा गरिब पृष्ठभूमीबाट आएकोे, गरिबलाई चिनेको मान्छे हो। मैले मेहनत, रगत र पसिना बगाएर आएको, पसिना र रगतको मूल्य थाहा भएको, मसँग राजनैतिक ठूला महत्वाकांक्षा छैनन्। म कर्मशील मानिस, गरिबी न्यूनिकरण गर्नका लागि यहाँका युवाहरुको रोजगारीको लागि र यहाँको पूर्वाधारका लागि आएको मान्छे हो।

विशेषगरि म पहाडी जिल्लाबाट यहाँ आउँदैछु। र, मैले पहाडी जिल्लाभन्दा यहाँको अवस्थालाई एकदमै दयनीय देखे। म यहाँ उम्मेदवार हुँदै गर्दा बिजुलीका पोल छैनन्। यहाँ अझै अन्धकार नै रहेछ। अझ गरिवी त पहाडको भन्दा पनि बढी रहेछ। यातायातको कनिक्टीभिटी अहिलेसम्म पनि नजोडिएको, अहिलेसम्मका नेताहरुले यहाँ राम्रोसँग आवागमनका लागि एउटा कल्भर्टसमेत राख्न नसकेको अवस्था देखिएको छ। 

त्यसैले मैले यहाँको जनताको जनजीवनलाई सरल र सहज बनाउनका लागि उम्मेदवारी दिएको छु। राजनीति भनेकै जनताको जनजीवनमा सहज र सरलता ल्याउनु र उसको आर्थिक उन्नतीलाई अभिवृद्धी गर्नु हो। 

यसो हेर्दा यहाँ कुनै पनि दलले सक्रियताका साथ यी कुराहरु गरेको देखिँदैन। विगतमा यहाँबाट निर्वाचित भएकाहरुसँग मतदाताहरुको निकै बढी विकर्षण छ। अब छिटोभन्दा छिटो म एउटा राजनीतिकर्मी र समाजसेवी भएका कारण म यहाँका मतदातको मनमा वासस्थान बनाउन सक्छु भन्ने विश्वास छ। 

तपाईंले यसअघि डोटीमा राजनीति गर्नुभयो। तर, अहिले कैलालीमा आएर चुनावी मैदानमा उत्रिदै गर्दा भोट माग्न मात्रै यहाँ आएको र टुरिष्ट उम्मेदवारको ट्याग पनि लागेको छ। यसलाई कसरी चिर्नुहुन्छ ? 
यो नेताहरुमा परेको आघात हो। यसलाई म सम्मान नै गर्छु। म कसैलाई विस्थापित गरेर यहाँ आएको होइन, पार्टीको निर्णयले नै म यहाँ आएको छु। जहाँसम्म पार्टीभित्रको अन्तरविरोधले चाही म प्रति त्यस्तो व्यवहार भएको छैन। र, सबै पक्षहरुले यसलाई चाँही स्वीकार गरेर अगाडि बढ्ने लक्षणहरु देखा परेका छन्। 

यहाँ ग्रुपिजम हुने र रहने छैन। मेरो लिडरसिपले पनि ग्रुपिजम राख्ने छैन। केवल एकधार हुनेछ, त्यो चाँही इमानदार, कर्मशील र जनताप्रति सर्मपित धार हुनेछ। मलाई त्यसरी टुरिष्ट चाही भनेका छैनन्। भनेका भएपनि तिनले भनेका छन्, जसले यहाँ नेता भएर काम गर्न सकेका छैनन्। भोलि म तिनलाई पनि काम गरेर दखाउँछु। 

विगतमा धेरैजसो नेताहरुले चुनाव जितेर एकपटक सांसद बनेपछि निर्वाचन क्षेत्र बदल्ने र छोड्ने पनि परिपाटी देखिएको छ। तपाईं के गर्नुहुन्छ ? 
मेरो राजनीतिक जन्मथलो डोटी भएपनि म यहाँ आइसकेपछि त्यस्तो हुन्न। यहाँका मानिस, यहाँको पार्टीले मलाई स्विकार गरिसकेपछि म यही रहन्छु। म स्वार्थका लागि आएको होइन, मलाई पार्टीले ताप्लेजुङ चुनाव लड्न पठाएको भएपनि जान्थे।

हिजो हामीले संघर्ष गरिरहेका बेला चाहे दार्चुलाको काँग्रेस होस्, चाहे ताप्लेजुङको काँग्रेस होस्। जहाँको काँग्रेस भएपनि काँग्रेस भएपनि हामी सबै खुसी भयौं। पीडामा पनि त्यस्तै हो। मभित्र स्वार्थ छैन। म कैलालीभित्रै आफ्नो स्पेस खोज्छु। म अब डोटी फर्केर जाँदैन। 

डोटेली जनताले तपाईलाई राजधानी बेचुवा भनेर पनि भने। यसबारे केही टिप्पणी गर्नुहुन्छ ? 
मैले त्यसबेला मन्त्री हुँदा बखत नै कैलालीमा प्रदेश राजधानी तोकिएको हो। त्यसबेला डोटीमा चुनाव लड्दै गर्दा मेरो स्वार्थ डोटीमा राजधानी होस् भन्ने थियो।  मेरो ठाउँमा अरु जोसुकै भएको भएपनि भन्थे। यसका लाज मान्नुपर्ने केही कुरा छैन। म मन्त्रिपरिषद्मा हुँदा पनि अस्थायी राजधानी तोकियो। तर, मैले केही गर्न सकेन। तर पनि पछि गएर मेरा साथीहरुले मेरो बाध्यतालाई बुझ्नुभएन। 

म त्यतिखेर निर्वाचन पराजित भएको अवस्था थियो। पराजित मानसिकता र तागतले के कति गर्नसक्छ ? भन्ने कुरा त्यहाँका मानिसहरुले बुझ्नुपर्ने हो। त्यो अब इतिहासले बताउँला। यो त राजधानी बेचुवा हो भनेर मलाई आरोप लागेको थियो। त्यसपछि तत्कालीन सरकारले २०७५ सालमा गोदावरी (कैलाली क्षेत्र नम्बर ४) मा स्थायी राजधानी तोक्यो।

तर, अहिलेसम्म राजधानीका नाममा पूर्वाधार नै निर्माण नहुनु दुःखद कुरा हो। प्रदेश र केन्द्र सरकारले तालमेल गरेर राजधानी बनाउनुपर्ने हो। अब गठबन्धन सरकार बनेपछि गोदावरीमै ६ महिनाभित्रै राजधानी निर्माणको काम अगाडि बढ्छ। अब राजधानी सर्दैन। कसैले २ तिहाई पुगाएर लग्यो भने त्यो अलग कुरा हो। 

तपाईंहरु प्रदेशका सबै ठाउँमा गठबन्धन गरेर चुनावी मैदानमा हुनुहुन्छ। यो निर्वाचनमा गठबन्धन कत्तिको सफल हुन्छ  ?   
यो गठबन्धन नभएको भए हाम्रो संविधान लिलाम भइसक्थ्यो। गठबन्धनले मुलुकलाई बचायो। अब गठबन्धनले मुलुकलाई १० वर्षको खाका बनाएर जानुपर्छ। गठबन्धन सफल हुनुपर्छ। 

सुदूरपश्चिमका विभिन्न निर्वाचन क्षेत्रहरुमा काँग्रेसकै नेताहरुले बागी उम्मेदवारी दिएका छन् ? यसबारे के भन्नुहुन्छ ?
त्यो उहाँहरुको व्यक्तिगत अधिकारको कुरा हो। घोक्रयाएर फिर्ता बोलाउने कुरा भएन। पार्टीमा लामो समय काम गरेर लास्टमा त्यही पार्टीलाई दुःख दिएर हिन्ने हो भने हामी उहाँहरुलाई मतदान नगर्न निर्देशन गर्छौ। 

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस