सुदूर नेपाललाई विश्वसँग जोड्दै

ह्याट्रिकको दाउमा रहेका आले ‘रेड जोनमा’, खड्का पर्नेछन् भारी

२०७९ असोज २७, ०६:०१ रोशन भट्ट

धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाको रोजाइँमा परेका पूर्वमन्त्री प्रेमबहादुर आलेमाथि स्वतन्त्र उम्मेदवार भारी बन्ने संकेत देखिएको छ। डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार रहेका नरेन्द्र खड्का आलेका लागि भारी हुने देखिएका हुन्। 

सत्ता गठबन्धनको मुख्य दल काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले डोटीमा आलेलाई रोजेका थिए। देउवाका विश्वास पात्र मानिएका सुदूरपश्चिम काँग्रेस सभापति वीरबहादुरलाई कैलाली–४ मा ल्याएर डोटी आलेका लागि छोडिएको थियो। 

एकीकृत समाजवादीका नेता आलेसँग डोटीबाट एमालेकी गौरी ओली प्रतिस्पर्धामा छिन्। ओलीसँगै स्वतन्त्र उम्मेदवार खड्काले पनि चुनावी माहोल बनाएपछि आलेलाई धक्का लाग्ने आकलन गरिएको छ। राजधानीको मुद्दालाई अघि सारेर चुनावमा होमिएको डोटीबाट स्वतन्त्र उम्मेदवार खड्काले बताए। ‘माटो बेच्नेहरु फेरि भोट माग्न गाउँगाउँमा आएका छन्। तिनीहरुलाई फेरि प्रतिनिधि बनाउँदा डोटीले अर्को घाटा सहनुपर्छ लाग्यो। सोही कारण डोटेलीको मुद्दा लिएर म चुनावमा लागेको छु’ उनले भने। 

स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका खड्काले प्रदेशको स्थायी राजधानीको मुद्दालाई प्राथमिकतामा राखेका छन्। तत्कालिन सरकारले धनगढीमा अस्थायी राजधानी तोकेसँगै राजनीतिक दलसँग बिच्किएका खड्का निरन्तर संघर्षमा छन्। 

सुदूरपश्चिम सरकारले प्रदेशको स्थायी राजधानी कैलालीकै गोदावरी तोकेपछि उनी डोटी राजधानीको माग गर्दै आन्दोलनमा समेत उत्रिएका थिए। डोटी उद्योग वाणिज्य संघको दुइ कार्यकाल महासचिव र एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका नरेन्द्र खड्का डोटीमा परिचित नाम हो। प्रतिनिधिसभा सदस्यका लागि उनको स्वतन्त्र उम्मेदवारी प्रति पनि धेरै डोटेलीले सहयोग गर्ने बताइरहेका छन्। ‘मैले जनताको मुद्दा लिएर चुनावमा जाने निर्णय गरेको हुँ। जित भयो भने सबै डोटेली जनताको हुन्छ। हार भएपनि जनताकै हुन्छ,’ खड्काले भने। 

आलेले भने प्रतिनिधिसभाको यात्रा तय गर्नका लागि दुई जनासँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। २०६४ को पहिलो संविधान सभा सदस्यको निर्वाचनमा पाराजित भएका आले ०७० मा भने निर्वाचित भएका थिए। त्यसपछि २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका आलले अहिलेका काँग्रेस सुदूरपश्चिम सभापति बलायरलाई हराएका थिए।  

अहिले आले सत्ता गठबन्धनको सहयोगमा तेस्रो पटक चुनाव जित्ने दाउमा छन्। त्यसका लागि स्वतन्त्र उम्मेदवार खड्का र एमालेकी गौरी ओलीसँग आलेले प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। ओली यसअघि पनि समानुपातिक सांसद बनिसकेकी हुन्। 

डोटीमा एकीकृत समाजवादीको मत कम भएपनि गठबन्धनको आधारमा चुनाव जित्ने दाउमा आले छन्। तर, डोटी काँग्रेसका नेता, कार्यकर्ताले आलेलाई सहयोग नगरेर स्वतन्त्र उम्मेदवार बनेका खड्कालाई विश्वास गरेपछि भने मतपरिणाम फरक आउने आकलन गरिन थालेको छ। 

त्यसमाथि एमालेका उम्मेदवारले पनि आलेलाई असर गर्ने सम्भावना बढी रहेको आकलन गर्न थालिएको छ। तर, आले संलग्न पार्टी भने डोटीमा चुनाव जित्नेमा ढुक्क छ। एकीकृत समाजवादीका डोटी जिल्ला अध्यक्ष दीर्घ बोगटीले आफ्नो पार्टीको जित निश्चित भएको दाबी गरे। ‘बहुदलिय व्यवस्थामा दलको विकल्प दल हो। त्यसकारण डोटीमा प्रतिनिधि सभामा आले कमरेडको जित निश्चित छ। स्वतन्त्र व्यक्ति प्रतिनिधि बन्न सक्दैनन्,’ उनले भने।

त्रिपक्षिय भिड्न्त हुने डोटीमा कसको पल्ला भारी हुन्छ, त्यो भने मंसिर–४ मा मतपेटिका भित्र खस्ने जनमतले निर्धारण गर्नेछ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस