सुदूर नेपाललाई विश्वसँग जोड्दै

एउटी श्रीमती पाल्न नसक्नेले अर्को विवाह गर्न नपाउने

२०७९ असोज २७, ०६:३७ खबर संवाददाता

एजेन्सीः भारतको एउटा अदालतले पहिलो श्रीमतीलाई राम्रोसँग पाल्न नसक्ने पुरुषले दोस्रो विवाह गर्न नपाउने आदेश दिएको छ। इलाहावाद उच्च अदालतले पहिलो श्रीमती पाल्न नसक्नेमाथि दोस्रो विवाहमा रोक लगाएको हो।

न्यायाधीश सूर्यप्रकाश केशरवानी र राजेन्द्रकुमारको संयुक्त इजलासले एक मुस्लिम पुरुषले दायर गरेको मुद्दामा उक्त फैसला सुनाएको हो। कुनै पनि मुस्लिम पुरुषले आफ्नी श्रीमती र छोराछोरीको राम्रोसँग हेरचाह गर्न नसके कुरानबमोजिम उसले अर्को महिलासँग पनि विवाह गर्न नसक्ने उच्च अदालतको आदेशमा उल्लेख छ। तर,अदालतले मुस्लिम पुरुषलाई पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने कानूनी अधिकार रहेकोबारे स्पष्ट पारेको छ।

दाम्पत्य अधिकारको पुनः स्थापनाका लागि अजिजुर रहमानले दायर गरेको पहिलो अपिल खारेज गर्दै अदालतले भनेको छ,‘कुरानको सुरा ४, पद ३ सबै मुस्लिम पुरुषका लागि बाध्यकारी छ। यसले विशेष गरी एक मुस्लिम पुरुषले चार वटी महिलासँग विवाह गर्न सक्छ। तर, ती पुरुषलाई महिलाहरुमाथि न्याय गर्न सक्दिनँ भन्ने लागेमा उसले एउटा मात्र विवाह गर्न पाउँछ।’

साथै, पहिलो श्रीमतीको इच्छाविपरीत दोस्रो विवाह गरेमा पहिलो श्रीमतीलाई आफूसँगै बस्न बाध्य बनाउन नसक्ने पनि अदालतको फैसलामा उल्लेख छ।

कमेन्ट लोड गर्नुस