सुदूरपश्चिमका मुख्यमन्त्रीसहित एक दर्जनबढी मन्त्रीले पाएनन् टिकट
धनगढीः सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री नै मंसिर ४ को चुनावी रिङबाट टिकट नपाएरै आउट भएका छन्। ५ वर्षमा प्रदेश सरकारका २५ जना मन्त्री मध्ये ८ जनाले मात्रै पार्टीको आधिकारिक टिकट पाएका छन्।
गठबन्धनले टिकट नदिएपछि पूर्व मन्त्री नेकपा एकिकृत समाजवादीका नेता लालबहादुर खड्का र आर्थिक मामिला मन्त्री प्रकाश रावलले कञ्चनपुरबाट बागी उम्मेदवारी दर्ता गरेका छन्।
यस्तै मन्त्री बनेका १५ जनाले पार्टीको टिकट हात पार्न नसक्दा मंसिर ४ को चुनावी प्रतिस्पर्धाबाट विश्राम पाएका छन्।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावमा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट सहजै उम्मेदवार हुने अनुमान गरिएको थियो। नेकपा माओवादी केन्द्रका नेता रहेका भट्टले प्रदेश सरकारको इतिहासमा पूरा कार्यकाल मुख्यमन्त्री हुने अवसर पाए पनि लगातार चुनाव लडेर जित्ने इतिहास भने रच्न असफल भएका हुन्। डोटीबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिसमा परेका मुख्यमन्त्री भट्टले गठबन्धनको टिकट पूर्व मन्त्री प्रेमबहादुर आलेको भागमा परेपछि प्रदेश सभामा दोहरिन चाहेका थिए। तर उनका स्वकीय सचिव शिव ओलीले प्रदेश सभाको टिकट ल्याउदा मुख्यमन्त्री भट्टले चुनाव लड्ने रहर यो पटका लागि त्याग्नु पर्ने अवस्था आयो।
नेकपा माओवादी केन्द्रबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा ५ वर्षे कार्यकाल पूरा गर्ने विनितादेवी चौधरीको चुनाव लड्ने इच्छा पनि पूरा हुन सकेन। प्रदेश तथा प्रनिनिधि सभा सदस्यमा नेकपा माओवादीको बलियो आकांक्षीको रुपमा हेरिएकी चौधरीलाई जिल्ल पार्दै उनकै स्वकीय सचिव रहेका दीर्घ विनाडीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ को ९१० बाट गठबन्धनको टिकट हात पारेका छन्।
देशभर पाँच दलीय गठबन्धन हुँदा कञ्चनपुरमा भने नेकपा समाजवादीबाट प्रदेशमा मन्त्री भएका लालबहादुर खड्का र प्रकाश रावलले गठबन्धनको साझा उम्मेदवार हुने सौभाग्य पाएनन्। गठबन्धमा रहेका काँग्रेस र माओवादी केन्द्रले समाजवादीका खड्का र रावलका लागि ठाउँ नछोडेपछि दुबैले प्रदेश सभा सदस्यका लागि एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला मन्त्री हुने अवसर पाएका नेकपा एमालेका नेता प्रकाशबहादुर शाहले पनि यो पटक पार्टीको टिकट पाएनन्। सामाजिक विकास मन्त्री भएका कृष्णराज सुवेदी, वन मन्त्री भएका बैतडीका माया भट्ट, कानून मन्त्री भएका डोटीका पूर्णा जोशीले यो पटक टिकट पाएनन्।
प्रदेश सरकारमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका बैतडीका माया भट्टले पनि चुनाव लड्न टिकट पाएनन्। अछाम का बलबहादुर सोडारी र मनाकुमारी साउँद, डोटीका अर्चना गहतराज, कैलालीका चुनकुमारी चौधरी र टेकबहादुर रैका आउजी, कञ्चनपुरका कुलवीर चौधरी र मानबहादुर सुनारले २०७९ को चुनावमा भाग लिन पाएनन्।
मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावमा प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री रहेका झपट बोहरा र कञ्चनपुरका तारा लामा तामाङलाई एमालेले क्रमशः अछाम क्षेत्र नम्बर १ र कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ।
नेकपा एकिकृत समाजवादीका दीर्घबहादुर सोडारी, अमरबहादुर साँउद, दार्चुलाका मानबहादुर धामी, कैलालीका डाक्टर रणबहादुर रावल र डडेलधुराका गोविन्दराज बोहरा र पठानसिंह बोहराले भने आआफ्नो पार्टीबाट प्रदेश सभाको टिकट पाएका छन्।
केही मन्त्रीले पुनः मत माग्ने अवसर पाए पनि ५ वर्षे कार्यकाल पूरा गर्ने भाग्यमानी ठानिएका मुख्य मन्त्री त्रिलोचन भट्टको यो पटक चुनाव लड्ने धोको पूरा भएन।
यस्तै एक दर्जनबढी प्रदेश मन्त्रीहरूले पनि मतदाता सामु आफ्ना लागि मत माग्ने अवसर पाउन सकेनन्।