सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-५ मा प्रतिनिधि सभाका लागि ११ र प्रदेशमा १४ जनाको उम्मेदवारी दर्ता

२०७९ असोज २४, ०७:२९ नारायण अवस्थी

धनगढी: मंसिर ४ मा हुने चुनावका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धन, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरि ११ जना व्यक्तिले उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनबाट नेपाली काँग्रेसका डिल्लीराज पन्तले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै नेकपा एमालेबाट नारदमुनि राना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट इश्वरी विष्ट र स्वतन्त्रमा पुष्करनाथ ओझासहितका नेताले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी संघीय लोकतान्त्रिक मञ्चका प्रतापे औजी, नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण चौधरीले पनि प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्। सत्ता गठबन्धनका तर्फबाट कैलाली ५ मा नेपाली काँग्रेसका डिल्लीराज पन्तसँगै प्रदेशतर्फ (१) मा माओवादी केन्द्रका रमेश धामी र (२) मा नेपाली काँग्रेसका प्रकाशबहादुर देउवाले पनि मनोनयन दर्ता गरेका छन्।

यस अघि प्रदेश सभा सदस्य रहेका डिल्लीराज पन्त सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। उनलाई नेकपा माओवाद केन्द्र, एकीकृत नेकपा समाजवादीको समर्थन छ। पन्तले आफ्नो उम्मेदवारी धनगढीको समग्र विकासका लागि भएको बताएका छन्।

"मेरो उम्मेदवारी गौरीफन्टा नाका र गेटा विमानस्थलको स्तरवृद्धि, गेटा मेडिकल कलेजको सञ्चालनका लागि हो," उनले भने, "धनगढी बजार क्षेत्रको डुबान समस्या हल गर्न र समग्र क्षेत्र नम्बर ५ को विकासका लागि गठबन्धनबाट म लगायत प्रदेशमा माओवादी केन्द्रका रमेश धामी र नेपाली काँग्रेसबाट प्रकाशबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ।" नेकपा एमालेबाट कैलाली ५ मा पूर्व मन्त्री नारदमुनि रानाले मनोनयन दर्ता गराएका छन्। एमालेबाट प्रदेश सभातर्फ ५ को (१) मा नेपालु चौधरी र (२) बाट दुर्गाप्रसाद जोशीले उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रियता, स्वाधीनता, विकास र समृद्धि आफ्ना चुनावी एजेन्डा भएको प्रतिनिधि सभाका उम्मेदवार रानाले बताए। "राष्ट्रिय स्वाधीनताको रक्षा, विकास र समृद्धि नेकपा एमालेका चुनावी एजेन्डा हुन्," उनले भने, "नेकपा एमालेको नेतृत्वमा सुखी नेपाली समृद्ध नेपालको परिकल्पना साकार पार्न पार्टी हामीलाई सूर्य चिन्ह दिएर पार्टीले भोट माग्न पठाएको छ, हामी चुनाव जित्छौँ।" पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले पनि कैलाली ५ मा उम्मेदवारी दर्ता गराएका छन्। नेपाली काँग्रेसको राजनीतिमा लामो समयसम्म सक्रिय रहेका ओझाले आफू सर्वपक्षीय उम्मेदवार भएकाले सहजै चुनाव जित्ने दाबी गरेका छन्।

धनगढीको छबि धुमिल बनाउने कोसिस भएकाले धनगढीका मतदाताको आत्मसम्मान जोगाउन आफूले उम्मेदवारी दिएको ओझाको तर्क छ। "राजनीतिक दल जनताका सम्पत्ति हुने गर्छन् तर हाम्रो छोटो अभ्यासमै दल व्यक्ति र परिवारका सम्पत्ति हुन पुगे," उनले भने, " दलहरूलाई जिम्मेवार बनाउन, धनगढीको धुमिल इमेज सफा गर्न र सत्ता र पैसाले चुनाव जित्न सकिदैन भन्ने पुष्टि गर्न मैले उम्मेदवारी दिएको हुँ।" नागरिक उन्मुक्ति पार्टीले पनि कैलाली ५ को प्रदेशतर्फ पनि उम्मेदवार खडा गरेको छ।

संघमा लक्ष्मण चौधरीलाई खडा गरेको नागरिक उन्मुक्ति पार्टीले प्रदेशतर्फ (१ ) मा श्रीराम चौधरी र (२) मा गोठु चौधरीलाई उम्मेदवार बनाएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश (१ ) मा पुष्करदत्त भट्ट र (२ ) बाट शिवराज भण्डारीलाई उम्मेदवार बनाएको छ।

कैलाली ५ को (१)मा क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश (२) मा माओवादी केन्द्रका नेता रमेशकुमार बस्नेतले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। कैलाली ५ को (१) मा ६ तथा (२) मा ८ जनासहित प्रदेश सभाका लागि १४ जनाको उम्मेदवारी दर्ता भएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस