सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय कम्पनीको खोकीको औषधी खाँदा ६६ जना बालबालिकाको मृत्यु

२०७९ असोज २१, ०१:१३ खबर संवाददाता

काठमाडौंः भारतको हरियाणास्थित औषधी कम्पनीद्वारा उत्पादित खोकीको औषधी सेवन गरेर ६६ जना बालबालिकाको मृत्‍यु भएको छ। ‘कफ एन्ड कोल्ड सिरप’नामक औषधीको सेवनका कारण अफ्रिकी मुलुक गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको हो।

उक्त घटनापछि विश्व स्वास्थ्य संगठण डब्लुएचओले कम्पनीको नाममा चेतावनी जारी गर्दै घटनाको छानबिन हुने समेत जानकारी गराएको छ। ‘डब्लुएचओले गाम्बियामा फेला परेको चार किसिमका कफ सिरप औषधिलाई लिएर चेतावनी जारी गरेको छ। यो औषधि खाएपछि मिर्गौलामा समस्या देखिनुका साथै ६६ जना बालबालिकाको मृत्यु भएको छ। यो अत्यन्त दुखद घटना हो।’ डब्लुएचओ प्रमुख टेड्रोस गेब्रियेससलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।

डब्लुएचओले अन्यमुलुकहरुलाई पनि भारतबाट आयतित औषढी जाच गरेर मात्र प्रयोगमा ल्याउनका निमित्त सुझाव दिएको छ। यस्तैगरी प्रोमिथाजाइन ओरल सोलुसन, कोफेक्सामलिन बेबी कफ सिरप, मेकआफ बेबी कफ सिरप र मैगरिप एन्ड कोल्ड सिरप लाई डब्लुएचओले शंकास्पद औषधिहरूको संज्ञा समेत दिएको छ।

गाम्बियाले गत जुलाई महिनामा पाँच वर्ष भन्दा कम उमेर समुहका बालबालिकाहरुमा मिर्गौलाको समस्या बढेको जनाएको थियो भने गत सेप्टेम्बरमा मात्र गाम्बियामा एक दर्जनभन्दा बढी बालबालिकाको मृत्यु भएको थियो। उक्त घटना लगत्तै डब्लुएचओले सुरुगरेको छानबिनमा माथि उल्लेखित चार औषधीमा अत्यधिक मात्रामा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल रहेको पुष्टि भएको बीबीसीले जनाएको छ।

यी कफ सिरप भारतको हरियाणास्थित मैडेन फर्मास्युटिकल्स लिमिटेडले उत्पादन गरेको हो भने कम्पनीले यी औषधिको सुरक्षाको ग्यारेन्टी पनि नदिएको डब्लुएचओको भनाई छ।

घटनापछि भारतको दिल्लीस्थित केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले यो घटनामा अनुसन्धान गर्न आदेश दिएको छ भने हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले केन्द्र सरकारका अधिकारीहरूले यसबारे सम्पूर्ण जानकारी संकलन गरिरहेको परीक्षण रिपोर्टमा कुनै समस्या भेटियो भने कम्पनीलाई कडा कारबाही गर्ने समेत बताएका छन्। कम्पनीले भने यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

कमेन्ट लोड गर्नुस