सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वडाध्यक्षले ‘काँग्रेसी’ भन्दै सर्वसाधारणलाई कुटे

२०७९ असोज २०, ०६:११ खबर संवाददाता

धनगढीः बैतडीको पुरचौंडी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष वीरबहादुर बोहराले सर्वसाधारणलाई कुटेको आरोप लागेको छ। स्थानीय वीरबहादुर बमले मल्लादेहीको डिलासैनी मन्दिरमा लागेको मेला हेरेर घर फर्कदा अध्यक्ष वोहराले कुटपिट गरेको बताएका छन्।

वडा नम्बर ८ कै भुलखेतमा रहेको अध्यक्ष वोहराको पसल अगाडि स्थानीय देवेन्द्र कुँवर र केसब विष्ट बिचको झगडा छुट्याउन गएका बमलाई अध्यक्ष वोहराले कुटेको पीडितले बताएका छन्। ‘अध्यक्षले तिमी काँग्रेसी मेरो पसलमा किन आयौँ भनेर सात महिना अगाडि टुटेर अप्रेसन गरेको खुट्टैखुट्टामा लठ्ठी भाँचिञ्जेलसम्म हाने,’ उनले भने, ‘म झगडा छुट्याउन गएको थिए, मेरो गल्ती केही पनि थिएन।’

तर वडा अध्यक्ष वोहराले भने कुटपिट नगरेको बताएका छन्। उनले वीरबहादुर बम स्वयं मदिरा सेवन गरेर जातबाट आएको र अरु कसैले कुटेको भए थाहा भएन आफूले कुट्नुपर्ने कुनै कारण नरहेको जिकिर गरेका छन्। ‘मैले कुट्ने कुरै हुँदैन, बरु वीरबहादुर बम आफै मदिरा सेवन गरेर आएका थिए,’ उनले भने, ‘त्यहाँ म मात्रै छैन, अरु मान्छे पनि छन्, कसैलाई एउटा अध्यक्षले कुट्छ भन्ने हुन्छ ?।’ 

कुटाइ खाएका बमले भने अध्यक्षले एउटा लठ्ठी नभाच्दासम्म पिटेको बताएका छन्। उनले अहिले आफू प्रहरी चौकीमा रहेको तर वडा अध्यक्षले प्रहरी सम्पर्कमा आउन आनाकानी गरेको बताएका छन्। वडा अध्यक्षले भने घरभन्दा टाढा भएकाले प्रहरीको सम्पर्कमा जान नसकेको बताएका छन्।

कमेन्ट लोड गर्नुस