सुदूर नेपाललाई विश्वसँग जोड्दै

मान्यजनबाट टीका र जमरा लगाएर दसैँ मनाइँदै 

२०७९ असोज १९, ०८:२४ नारायण अवस्थी

धनगढी: बडा दसैँ विभिन्न शक्ति पीठमा पूजा आराधना गर्दै नौ दिनसम्म मनाइन्छ। राष्ट्रिय चाड मानिने यो पर्वलाई नवरात्र अर्थात शारदीय नवरथा पनि भनिन्छ।

असोज शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्ति स्वरुपा नवदुर्गाको विधीपूर्वक पूजा आराधना गरिन्छ। दसौं दिन अर्थात दशमीको दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका–प्रसाद र आशिर्वाद ग्रहण गरेर पूर्णिमासम्म दसैँ मनाउने गरिन्छ। असोज शुक्ल प्रतिपदा अर्थात घटस्थापनामा जमरा राखी नवमीसम्मको नौ दिनमा विधिपूर्वक प्रत्येक दिन फरकफरक देवीको पूजा गरिन्छ।

प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती चण्डी पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा एवं आराधना गरिन्छ।

बडा दसैँ टीका र जमरा लगाउने, आशीर्वाद लिने दिने र आफन्तसँग गरिने भेट र मिलनका कारणले पनि विशेष महत्त्व बोकेको चाड हो। असत्यमाथि सत्यको विजय भएको रुपमा दसैँको विजया दशमीको दिनलाई लिइन्छ। भगवान रामले रावणको बध गरेको दिनको रुपमा विजया दशमीलाई लिइन्छ। यस्तै सबै मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने कार्य सजिलो होस् भनेर पूर्णिमासम्म टीका ग्रहण गर्ने प्रचलन रहेको छ।

दसैँमा हातहतियारको पूजा गर्ने परम्परा रहेको छ भने सुदूरपश्चिम प्रदेशभरका शक्ति पीठहरुमा महाष्टमी, महानवमी र विजया दशमीको दिन मेला लाग्ने गर्दछ। दुर्गा भगवतीको प्रसादको रुपमा लगाइने जमराले काम, क्रोध, लोभ, मोह, मद मात्सर्य, ईर्ष्या, द्वेष, छल, कपट जस्ता दस विकार नास हुने विश्वास गरिन्छ।

बडा दसैँको दसौं दिन अर्थात विजया दशमीको दिन सोह्र सामग्रीले भगवती दुर्गा र अन्य देवी तथा देवताको पूजा गरिन्छ। नौ दिनसम्म गरिएको पूजामा कुनै त्रुटि भएको अवस्थामा त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्ट दल लेखी त्यसको बिचमा देवीका तीन प्रतिमा राखेर तीन देवीहरू  अपराजिता, जया र विजयाको आवाहन गरि  सोह्र सामग्रीले पूजा गर्ने शास्त्रीय विधान रहेको छ।

देवीको पूजा गरेर हवनपछि जमरालाई पूजा गरी भगवती र अन्य देवदेवीहरूलाई चढाई आरति र पुष्पाञ्जली गरिन्छ। यसरी दसैँमा भगवतीको विधि पूर्वक पूजा गरी जमरासहित प्रसाद र आशीर्वाद ग्रहण गर्नाले कसैले पनि आफूमाथि विजय गर्न सक्दैन भन्ने धार्मिक विश्वास रहेको छ। 
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस