सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब युट्युबमा फोरके भिडिओ हेर्न पैसा तिर्नुपर्ने !

२०७९ असोज १८, ०१:३५ खबर संवाददाता

काठमाडौंः निशुल्क रुपमा भिडिओहरू हेर्न पाउने प्लेटफर्मको रुपमा लोकप्रिय युट्युब विस्तारै पैसा तिरेर हेर्नुपर्ने प्लेटफर्ममा रूपान्तरण हुँदैछ। पछिल्लो समयमा गुगलले युट्युबका विभिन्न फिचरहरूलाई प्रिमियम सब्सक्रिप्सनसँग जोड्दै लगेको छ। जसले गर्दा प्रयोगकर्ताहरूले युट्युबमा राम्रो अनुभवको लागि पैसा तिर्नुपर्ने अवस्था आएको छ।

युट्युबको प्रिमियम सब्स्क्रिप्सनको लागि गुगलले नयाँ नयाँ कामहरू गरिरहेको छ। यो भन्दा अगाडि युट्युबमा पाँचओटा सम्म विज्ञापन स्किप गर्न नमिल्ने फिचरको चर्चा भइरहेको थियो । यो सँगै बजारमा फेरी नयाँ चर्चा सुरु भएको छ। बाहिरिएको समाचार अनुसार गुगलले युट्युबमा उपलब्ध फोरके रिजोलुसनको भिडिओहरुलाई पनि  सशुल्क बनाउने तयारी गरिरहेको छ।

यसको अर्थ हो अब तपाईंले युट्युबमा फोरके रिजोलुशनको भिडिओ हेर्नको लागि सुरुमा प्रिमियम भर्सन सब्सक्राइब गर्नुपर्ने हुन्छ। रेडइटमा एकजना प्रयोगकर्ताले युट्यबुको नयाँ फिचरको बारेमा स्क्रिनसट सहित पोस्ट गरेका थिए। जसमा १०८० पिक्सेल भन्दा माथिको रिजोलुसनमा प्रिमियम भनेर लेखिएको छ । साथमा अपग्रेड भन्ने अप्सन पनि दिइएको छ।

हाल यो फिचर केही प्रयोगकर्ताहरूको साइटमा मात्र देखिएको छ। यद्यपि यो आधाकारिक रुपमा छिट्टै नै आउने अनुमान गरिएको छ। तर गुगलले भने यो विषयमा कुनै आधिकारिक धारणा दिइसकेको छैन।

कमेन्ट लोड गर्नुस