सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसैंमा बढ्यो मदिरा उपभोग

२०७९ असोज १८, ०१:०८ खबर संवाददाता

काठमाडौंः दसैं भनेकै ‘राम्रो लगाउने र मीठो मसिनो खाने’ चाडको रूपमा लिन थालिएको छ। देश विदेशमा रहेका आफन्तहरू एकै ठाउँ जम्मा भई मीठो मसिनो खाने, जमरा लगाउने, आशीर्वाद लिने–दिने दसैंका विशेषता नै हुन्।

केही वर्ष यता खानाका परिकारसँगै ‘रमाइलो’ गर्न मदिराको प्रयोग पनि बढ्दै गएको छ। विदेशी ब्रान्ड महँगो पर्ने र जहाँ पनि नपाउने हुँदा स्वदेशी ब्रान्डका रक्सी, वाइन, बियरजस्ता मदिरा उपभोग बढ्दै गइरहेको मदिरा उत्पादन संघको भनाइ छ। रक्सीमा ह्विस्की, रम, जिन, भोड्का, ब्रान्डीलगायतका ब्रान्ड बढी लोकप्रिय छन्। बियरमा नेपाली ब्रान्ड ब्राहसिंहे छ भने विदेशी र नेपाली सहकार्यमा आइरहेको काल्र्सबर्ग, टुबोर्गजस्ता बियरको उपभोग पनि बढ्दो छ।

हाल ९० वटा कम्पनीहरूले विभिन्न नेपाली ब्रान्डका मदिराको उत्पादन गर्दै आइरहेका छन्। दसैंमा विशेषत अरू समयको भन्दा मदिराको प्रयोग बढी हुने गरेको संघका अध्यक्ष बैजुप्रसाद बब्राको भनाइ छ। केन्द्रीय बैंकले मदिरा आयातमा रोक लगाएका कारण पनि यो पटकको दसैंमा आन्तरिक उत्पादनको खपत बढ्ने उनको भनाइ छ। विदेशी मुद्रा सञ्चितिलाई बढाउनका लागि भन्दै विदेशी मदिरासहित विलासिताका वस्तुको आयातमा केन्द्रीय बैंकले रोक लगाएको छ।

दसैंको धार्मिक तथा सांस्कृतिक महत्ववका कारण साथीभाइ भेटघाट तथा पारिवारिक जमघट हुने गरेको छ। यसरी भेटघाट हुँदा मदिराको मातमा रमाइलो गर्नुको मज्जा छुट्टै भएको रक्सी पारखीहरू भन्छन्। नेपालीमाझ पेय संस्कृतिको रूपमा भित्रिएको मदिरा स्वास्थ्य र धार्मिक कारण भने सबैले पिउँदैनन्। तर पनि दसैंमा हुने जमघटमा मदिराको सेवनको प्रयोग बढ्दै गइरहेको छ। सामान्य समयमा भन्दा दसैंमा मदिराको प्रयोग १५ देखि २० प्रतिशतले बढ्ने गरेको संघको तथ्यांक छ।

नेपालमा नै उत्पादन हुने भए पनि कच्चापदार्थ भने भारतलगायतका मुलुकबाट आयात हुने गरेको छ। दसैंलाई लक्षित गर्दै विभिन्न कम्पनीहरूले नयाँनयाँ उत्पादन पनि सार्वजनिक गरिरहेका छन्। यता, पछिल्लो समयमा वाइन पिउने चलन पनि बढेको छ। प्रायः महिला दिदीबहिनीहरूले रमाइलो गर्नका लागि वाइन पिउने गरेका छन्। अधिकांश वाइन फलफूलबाट बन्ने गरेका कारण फलफूलको नाम लिँदै वाइन पिउने पारखीहरूको संख्या बढेको छ ।

दसैंमा कोदो, भातबाट बनाउने स्थानीय रक्सीको प्रयोग पनि स्थानीयस्तरमा बढ्ने गरेको छ। कुनै लेबल वा प्याकेजिङबिना नै यस्तै लोकल रक्सीहरू बिक्री हुने गरेका छन्। कुनै पनि मापदण्डबिना स्थानीय सीप र संस्कृतिको रूपमा यी रक्सीहरूलाई लिने गरिन्छ भने भिन्नभिन्न जातीय सम्प्रदायमा यसको ठूलो महत्व रहने गरेको छ।

मदिरा सेवन स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुने गरेको भए पनि पछिल्लो समयमा यसको प्रयोग पनि बढ्दो छ भने कोसेलीको रूपमा पनि मदिरा प्रयोग हुन थालेको पाइन्छ।
 

कमेन्ट लोड गर्नुस