२९ वर्षदेखि ओडारमा व्यापार
दोलखाः दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्की २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन्।
विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र सिन्धुलीका मानिस मन्थलीबाट खिम्ती हुँदै यही बाटो भएर काठमाडौँ ओहोरदोहोर गर्न थालेपछि उनले ‘चिया चमेना’को व्यापार सुरु गरेका थिए।
तत्कालीन समयमा कार्कीले ओडारबाट सुरु गरेको व्यापार अहिले जस्ताको छानोमा परिमार्जित भएको छ। ६४ वर्षीय कार्कीले पाँच छोरी र दुई छोरासहित नौ जनाको परिवारको पालपोषण यही ओडारको पसलबाट भएको आम्दानीबाट गरिरहेको बताए। जीविकोपार्जनमा समस्या भएपछि भारतको सिलगुढीमा १८ वर्षसम्म ज्याला मजदूरी गरेर केही रकम लिई स्वदेश फर्किएका थिए।
सोही बेलादेखि सुरु गरेको ओडारको पसलले सहजै जीविकोपार्जन गरिरहेको छ। ओडारको पसलमा किराना सामान, चिया, खाजा र अनुरोध भएमा खानासमेत खुवाउने व्यवस्था भएको कार्कीले जानकारी दिए। ‘त्यसबेला यहाँ लगाएको वरपीपल अहिले सित्तल बस्ने चौतारो बनेको छ भने बाँसका झाङ फैलिँदै गइरहेका छन्, केरा, अम्बा आटीलगायत फलफूलहरू पनि पाक्ने बेला भए पनि बाँदरले दुःख दिने गरेको छ', उनले भने।
चार–पाँच आना जग्गामा गरेको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि विकल्पको खोजीमा ओडार आइपुगेको कार्कीले बताए। यही व्यापारबाट तामाकोसी–५ मा छ आना जग्गा किनेर भूकम्प प्रतिरोधी दुईकोठे कच्ची घर बनाएको उनले बताए।
सबै छोराछोरीको विवाह गरिसकेका कार्की आफ्नी ६२ वर्षीया श्रीमती डम्बरकुमारीको साहारमा पसल चलाउने र घरायसी काम गर्ने गरेका छन्। पसलबाट सुरुआती चरणमा दैनिक दुई हजार पाँच सयदेखि १० हजारसम्म व्यापार हुने गरको बताउँदै कार्कीले ग्राहकले आधुनिक बसाइ, खाना खोज्नाले अहिले व्यापार घटेको उनको भनाइ छ।