सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा दसैंमा पनि भएन व्यापार, व्यवसायी चिन्तित

सरकारको नीति नै गलत

फाइल फोटो
फाइल फोटो
२०७९ असोज १८, ०७:५७ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिमका व्यवसायी व्यापार नहुँदा चिन्तित भएका छन्। यो वर्षको दसैंमा अघिल्ला वर्ष झै व्यापार नहुँदा प्रदेशका व्यापरी चिन्तित भएका हुन्। आर्थिक मन्दी तथा सरकारको नीतिका कारण ग्राहक सामान खरिद गर्न नआउँदा व्यवसाय खस्किएको व्यापारीहरूले बताएका हुन्। अनलाइन सपिङका कारण पनि पसल थापेर गरिने व्यापार खस्किन थालेको धनगढीका व्यापारी सरोजकुमार यादवले बताए।

’यो वर्ष आर्थिक मन्दीको कारण व्यापार ५० प्रतिशतले कम भयो,’ उनले भने, ’सरकारी नीतिले बैंकबाट ऋण मिलेन भने अनलाइन सपिङले पसल थापेर गरिने व्यापारमा कमी आएको छ।’ विगतका वर्ष झै यो वर्षको दसैंमा व्यापार भएको अधिकांश व्यापारीको भनाइ छ। दसैंमा निकै चहलपहल हुने सुदूरपश्चिमको अस्थायी मुकाम धनगढी, अत्तरिया र महेन्द्रनगर लगायतका ठूला बजारहरुमा पनि अघिल्ला वर्षको तुलनामा ५० प्रतिशतले व्यापारमा मन्दी आएको बताइएको छ। आर्थिक मन्दीका कारण यो दसैंमा ग्राहक पसलसम्म नआएको अत्तरियाका व्यापारी रमेश वोगटीले बताए।

‘यो वर्ष बिक्री नै छैन, मान्छेहरूसँग पैसा नै छैन,’ उनले भने, ‘विगतभन्दा आधाले व्यापार घटेको छ, दसजना पसलमा आउँदा एक जनाले मात्रै सामान किनेर लगिरहेका छन्।’

धनगढीमा व्यापार गर्ने राजेन्द्र शाहीले पनि यो वर्ष गत वर्षभन्दा आधाले बिक्री घटेको सुनाए। विगतमा दसैंमा सामान बेच्न र देखाउन भ्याइनभ्याइ हुने भए पनि यो वर्ष पसलमा खाली बसेजस्तो भएको उनको भनाइ छ। 
महेन्द्रनगरमा कपडा पसल गर्दै आएका सरिता विष्टलाई पनि यो दसैंमा ग्राहक नै पसलमा नआएको भान भएको छ। बैंकले ऋण नदिँदा सामान राख्न नसकेका व्यापारीले दसैंजस्तो बढी किनमेल हुने पर्वमा ग्राहक नपाउनु दुःखको विषय भएको विष्टले बताए।
‘दसैंमा हो हामीहरूको सबैभन्दा बढी बिक्री हुने तर यो वर्ष बिक्री नै छैन,’ उनले भने, ‘चार पैसा कमाइ हुने सिजनमा बिक्री नहुँदा हाम्रो त बिचल्ली हुने भएको छ।’
पहाडी जिल्ला दार्चुलामा पनि यो दशैमा सोचेजस्तो व्यापार छैन्। जिल्लाको गोकुलेश्वरमा अन्य वर्षको दसैंमा जस्तो व्यापार नभएको हो। दार्चुलाका व्यापारीलाई पनि अन्य ठाउँका व्यापारी जस्तै बैंकको किस्ता, पसलको भाडा र घर खर्च चलाउनै मुस्किल हुने चिन्ता गरेका छन्। यो वर्ष खासै बिक्री र चहलपहल नभएको गोकुलेश्वरका व्यापारी भुपेन्द्र मालले बताए।

‘यो वर्ष दसैंमा बिक्री खासै भएन, मान्छेहरुसँग पैसा नै छैन,’ उनले भने, ‘व्यापार नहुँदा बैंकको व्याज,पसल भाडा र घर खर्च चलाउन समस्या होला जस्तो छ।’
आर्थिक मन्दीको असर आफ्नो पेशमा परेको व्यापारीहरूले बताएका हुन्। सरकारी नीति तथा अर्थिक मन्दीका कारण व्यापार व्यवसाय प्रभावित भएको व्यापारीहरूले बताएका छन्।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस