सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा प्रमोदको थामि नसक्नु क्रेज

२०७५ फाल्गुन २७, १०:३३ खबर संवाददाता

दिउँसैदेखि महेन्द्रनगर स्थित खुल्लामञ्च दर्शकहरुले भरिभराउ थियो । बेला बेलामा उद्घोषकले दर्शकहरुलाई प्रमुख कलाकार आउने जानकारी दिईरहेका थिए । तर दर्शकहरुको हुटिङ बढ्दै गईरहेको थियो । बेलुका ५ बजे नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रमोद खरेलले महेन्द्रनगर स्थित खुल्लामञ्चमा जारी महोत्सवमा उपस्थित भएपछि भने माहोल नै फरक बन्यो । स्टेज चढ्न पुगेका गायक खरेललाई बाटोमै उनका फ्यानहरुले घेरिसकेका थिए । स्टेज चढे लगत्तै गायक खरेलले माईक्रोफोन समातेपछि गडगढाहट तालीले स्वागत गरे । ‘म बाँचेकै तिमीसंग माया लाउन हो’ बोलको गीतबाट आफ्नो प्रस्तुती प्रारम्भ गरेका गायक खरेलले एकपछि अर्को आफ्ना चर्चित गीतहरु पस्के । खुल्लामञ्चमा भरिभराउ दर्शकहरुले आफ्नो मनपर्ने गीतहरु गाउन आग्रह गरिरहदा गायक खरेलले पछिल्लो आफ्नो बजारमा आएको चर्चित गीत ‘यो कुरा गोप्य नै राखौंला’ बोलको गीत पस्केपछि दर्शक अझै उत्साहित भए । 

 

मञ्चको दुबैतिर भरिभराउ दर्शकहरुले एकपछि अर्का गितमा भरपुर मनोरञ्जन लिए । सुरक्षाकर्मीहरुलाई नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । युवापुस्ताको बाक्लै उपस्थिति रहेको कार्यक्रममा गायक खरेलका प्रस्तुतीले झनै रौनक दिएको थियो । दर्शकहरुलाई नाच्न उत्साहित गर्दै आफ्ना प्रस्तुती राखेका गायक खरेलले केही सातामै बजारमा आउन लागेको नयाँ गीतको केही अशं प्रस्तुत गर्दा दर्शक झनै उत्साहित भए । ओए झुमा, ओए झुमा, झुम्कावाली बोलको गीतले बजार तातेको बेला साता दिनमा आउन लागेको झुमा २ बोलको अर्को गीतका अशंहरु पटक–पटक प्रस्तुत गरिरहँदा दर्शकहरु उत्साहित हुदै गीत चाडै बजारमा आओस् भनेर हुटिङ गरिरहेका थिए । गायक खरेलले आईतबारको आफ्नो प्रस्तुतीमा दर्जन बढी गीतहरु पस्किदा दर्शकहरुले अहिलेसम्मकै भरपुर मनोरन्जन लिए । गायक खरेलले महेन्द्रनगरका दर्शकहरुको प्रशंसा गरिरहँदा एकपछि अर्को गीत गाउन आग्रह गरिरहेका थिए । दर्शकको भीड थाम्न प्रहरीलाई निकै हम्मेहम्मे परिरहेको थियो । फागुन १७ गतेदेखि शुरु भएको कञ्चनपुर पर्यटन महोत्सव सोमबार समापन हुदैछ । 

कमेन्ट लोड गर्नुस