सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निर्माणाधीन रानाथारु सङ्ग्रहालयको भवनका लागि बजेट अभाव

२०७९ असोज १३, ०२:४८ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रानाथारु सङ्ग्रहालय निर्माणका लागि २०७६ असारमा सम्झौता भयो। ३६ महिनाभित्र निर्माण पूरा गर्नेगरी सम्झौता गरिएको थियो। तर काम पूरा नहुँदै सम्झौता अवधि सकिएको छ। 

सरकारले बाँकी रहेको ३० प्रतिशत निर्माण पूरा गर्न पुनः एक वर्षका लागि म्याद थप गरेको छ। धनगढी उपमहानगरपालिकाका इन्जिनियर दीजराज भट्टले सङ्ग्रहालयको ७०/८० प्रतिशत भौतिक प्रगति भएको बताए। उनले भने, ‘७०/८० प्रतिशत भौतिक प्रगति भएको छ। बजेट नभएका कारण सङ्ग्रहालय निर्माणमा ढिलाइ भएको हो।’ संघीय सरकारबाट बजेट नआएपछि धनगढी उपमहानगरपालिकालाई आर्थिक भार थपिएको छ। 

प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री नारदमुनी रानाको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, पर्यटन मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त लगानीमा सङ्ग्रहालय निर्माण थालिएको थियो। ७ करोड ५३ लाख ६८ हजार एक सय ९० रुपैयाँको लागत रहेको सङ्ग्रहालयमा उपमहानगरपालिकाले एक करोड ५० लाख चालु आर्थिक वर्षमा विनियोजन गरेको छ। 

पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य नारदमुनी रानाको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ५० लाख र तराई मधेश समृद्धि कार्यक्रमको २५ लाख गरी ७५ लाखबाट सङ्ग्रहालय निर्माण सुरु गरिएको थियो।

निर्माण कम्पनीलाई अहिलेसम्म तीन करोड ६५ लाख ८५ हजार २६ रुपैयाँ मात्र भुक्तानी दिइएको उपमहानगरपालिकाले बताएको छ। बजेट अभावका कारण काम अनुसारको भुक्तानी दिन नसकिएको इन्जिनियर भट्टले बताए। 

निर्माणाधीन अवस्थामा रहेको सङ्ग्रहालयका लागि उपमहानगरपालिका र टीएस कन्ट्रक्सनबीच सम्झौता भएको थियो। सङ्ग्रहालय भवनमा रङरोगन, पर्खाललगायत संचरनाको काम गर्न अझै बाँकी छ। सुरक्षा गार्ड र प्रशासनिक भवन निर्माणको काम भने लगभग सकिएको छ। तर न्यून बजेट निकासा हुँदा कामअनुसारको भुक्तानी भएको छैन। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस