सेती अस्पतालबारे गुनासै गुनासो: शल्यक्रिया गर्दा लापरबाही, निजीमा पठाउँछन् स्वास्थ्यकर्मी
धनगढी : गत भदौ ११ गते रुखबाट लडेर डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १ का १० वर्षीय बालक नविन कार्कीको हात भाँचियो। उनलाई भदौ १२ गते कैलालीमो सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरियो। नविनको नाडीको हड्डी भाँचिएकाले दोस्रो दिन अर्थात् भदौ १३ गते शल्यक्रिया भयो।
तर त्यो शल्यक्रियापछि घाउमा संक्रमण भएको भन्दै उनको यहि बुधबार तेस्रो पटक शल्यक्रिया गरिएको छ। नविन अस्पताल भर्ना भएको एक महिना पूरा भएको छ तर भाँचिएको हात निको नहुँदा उनको कुरुवा बसेका आफन्त हैरान भएका छन्। नविनका आफन्तले अस्पतालका चिकित्सकले लापरबाही गरेको गुनासो गरेका छन्। नविनकी हजुरआमा कृष्णा विष्टले भाँचिएको हात अस्पताल बसेको एक महिना हुँदा पनि निको नभएको बताइन्। 'उपचार गर्न अस्पताल ल्यायाको एक महिना भइगयो, अहिलेसम्म तीन फेरा अप्रेसन गरिहाल्यो। हात जसातसो छ,' उनले डोटीले भाषामा भनिन्, 'रुप्पे ६० हजारहै बड्ता सकिग्या, उपचार निकेरी नहुनाले हात पाकेर पीप बग्न थाल्यो। सफा गरिदिय भुणेले रिसाने भे, झर्किने भे निको हुने हो कि नाइ?' एक महिनाको अस्पताल बसाइमा नविनको उपचारमा ६० हजारभन्दा बढी खर्च भएको छ। उचित किसिमले शल्यक्रिया र ड्रेसिङ नहुँदा घाउ पाकेको र तीन पटक शल्यक्रिया गरिएको नविनका आफन्तको गुनासो छ।
तर चिकित्सकले भने बिरामीको हात भाँचिएर हड्डी बाहिर आएकाले संक्रमण हुन पुगेको दाबी गरेका छन्। सेती प्रादेशिक अस्पतालका हाडजोर्नी विभागका डाक्टर ज्ञानेन्द्र जोशीले उपचारमा लापरबाही नभएको दाबी गरेका छन्। 'बच्चाको हातको रिस्टको हड्डी भाँचिएर बाहिर आएको थियो, माथि पनि हाड्डी भाँचिएको थियो। हामीले दुवै ठाउँको अप्रेसन गरेका हौँ,' उनले भने, 'तर कुनै किसिमको लापरबाही भएको छैन, हड्डी बाहिर आएकाले घाउँ पाकेको हो।' सेती प्रादेशिक अस्पतालको हाडजोर्नी विभागमा कार्यरत डाक्टर मोहन नाथले नविनको हातको शल्यक्रिया गरेका हुन्।
सेती प्रादेशिक अस्पतालमा निकै लापरबाही हुने गरेको अन्य वार्डमा रहेका बिरामीले पनि गुनासो गरेका छन्। अशक्त भएर भर्ना भएकका बिरामीले कुनै गुनासो गरे झर्केर जवाफ दिने, बोलाउँदा पनि नआउने, नर्सिङ स्टाफ गफमा व्यस्त हुने, कुनै सहयोग माग्दा वास्ता नगर्ने, बोल्दा थर्काउने र 'राम्रो उपचार चाहिने भए निजी अस्पताल जाउ' भन्ने जवाफ स्वास्थ्यकर्मीबाट आउने गरेको एकजना बिरामीका कुरुवाले बताए। 'यो अस्पतालमा अचेल निकै लापरबाही बढेको रहेछ, कुनै सहयोग मागे पनि झर्केर बोल्ने गर्छन्,' उनले भने, 'बिरामी तथा तिनका कुरुवाले कुनै गुनासो गरे अन्यत्र जानु हामीलाई धम्की नदिनु भनेर कड्किने गर्छन्।'
सेती अस्पतालमा शल्यक्रिया गर्न पालो कुर्नुपर्ने बाध्यता पनि कायमै छ। प्रदेशमै सबैभन्दा बढी जनशक्ति र उपकरण भएको अस्पताल भए पनि सेतीबाट दैनिक रुपमा बिरामी निजी अस्पतालमा रेफर हुने गरेका छन्। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले नै सेतीभन्दा अन्यत्र उपचार सेवा राम्रो छ भनेर पठाउने गरेको दाबी एक जना बिरामीका आफन्तको छ। सेतीमा लापरबाही गर्ने तर त्यहीँ चिकित्सकले निजी अस्पतालमा भने राम्रो उपचार गर्ने भनेर चर्चा हुने गरेको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले भने सेतीबाट अन्य साना अस्पतालमा रेफर गर्ने कुनै नियम नभएको बताए। 'सेतीबाट निजी अस्पतालमा बिरामी पठाउनै मिल्दैन,' उनले भने, 'यदि कसैले पठाउँछ भने तुरुन्त हामीलाई खबर गरे आवश्यक कारबाही गर्छौँ।'
तर सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको संख्या र उपकरण बढी भए पनि सर्वसाधारणले भने गुणस्तरीय सेवा पाउन निजीमा नै जानुपर्ने वातावरण निर्माण गर्ने काम अस्पतालमा कार्यरत कर्मचारीबाटै हुने गरेको गुनासो उपचार गर्न आउने बिरामीले गरेका छन्।