सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री भट्टको त्यो ‘दिउँसै रात पार्ने’ भाषण...

बाध्यताको पुन्तुरा बोकेर दसैं मान्न फर्कदैछन् सुदूरपश्चिमेली

२०७९ असोज १०, ११:१० रोशन भट्ट

धनगढीः ‘म भारतका प्रत्येक सहरमा गएको छुँ। मैले सुरुमा पञ्जाबमा काम गरे। मुम्बईमा पनि काम गरे। चौकीदारी पनि गरे। घरमा पनि काम गरे। मैले भारतमा १७/१८ वर्ष बिताएको छुँ। त्यो ठाउँबाट आएको मान्छे आज यो स्थानमा पुगे। मलाई थाहा छ, दुःख पीडा। र, मैले भनेको छु यो कार्यकालमा धेरै ठुलो काम गर्न नसकिए पनि एक सुरुवात गर्छु। भारत जाने युवाका लागि यही देशमा रोजगारीको व्यवस्था गर्न सुरुवात गर्छु,’ यो भनाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको हो।

मुख्यमन्त्री भट्टले आजभन्दा झण्डै पाँच वर्ष अगाडि धनगढीमा आयोजित एक औपचारिक सभामा यस्तो बोलेका थिए। भट्ट अहिले कार्यकालको अन्त्यमा पुुगेका छन्। तर, उनले भनेजस्तो न देशमा रोजगारीको व्यवस्था भएको छ न कामको लागि भारत जानुपर्ने बाध्यताको अन्त्य। उल्टै पछिल्लो ५ वर्षमा रोजगारीका लागि भारत जानेको संख्या बढेको तथ्यांकले देखाएको  छ। 

हिन्दुहरुको महान चाड दसैं सुरुभएसँगै भारतबाट घर फर्किनेको संख्या पनि बढ्दै गएको छ। पछिल्लो समय त्रिनगर–गौरीफन्टा नाका भएर दैनिक ७ सयदेखि एक हजारसम्म सुदूरपश्चिमवासी घर फर्किरहेका छन्। रोजगारीको लागि भारतमा बस्दै आएकाहरु घर फर्किन लागेसँगै मुख्यमन्त्री भट्टले झण्डै पाँच वर्ष अगाडि गरेको माथि उल्लेखित भाषण सम्झन थालेका छन्। 

भट्ट कार्यकालको अन्त्यमा पुुगेका कारण पनि त्यो सम्झना आउनु स्वाभाविक हो। सोमबार विहान त्रिनगर–गौरीफन्टा नाका हुँदै भारतबाट घर फर्किनेको भिडमा डडेल्धुराका नारायण खड्का पनि थिए। डडेल्धुरा आलिताल गाउँपालिकाका खड्का विगत १८ वर्षदेखि भारतमै रोजगारी गर्दै आएका छन्। हिमाञ्चलमा स्याउ टिप्ने खड्का नेपाल आउजाउ गर्ने गर्दछन्। ‘देशमा रोजगारीको व्यवस्था छैन। परिवार पाल्नकै लागि भारत जानुपर्ने बाध्यता छ,’ उनले भने। 

सोमबार विहान नै त्रिनगर–गौरीफन्टा नाकामा कञ्चनपुर पुनर्वासका कृष्ण विक पनि भेटिए। उनी आफ्नो परिवारसहित स्वदेश फर्किरहेको थिए। घरपरिवारको खुसी किन्न भारतमा पसिना बगाउने युवामा उनी पर्छन्। सीप हुँदा पनि देशमा काम गर्ने अवसर नपाउँदा भारत जानुपर्ने बाध्यता छ। ‘रोजगारीकै लागि भारत जान्छु। उतै काम गर्न थालेको धेरै वर्ष भयो। आफ्नो देशमै बसेर काम गर्ने रहर त छ। तर, त्यो अवस्था देशमा छैन,’ विकले भने। 

यी दुईत प्रतिनिधि उदाहरण मात्रै हुन्। भारतमा श्रम बेच्ने सयौं युवाहरु अहिले घर फर्किरहेका छन्। केही परिवारसमेत भारतमा बस्दै आएका छन्। देशमा तीन तहका सरकार शासन गरेको पाँच वर्ष हुँदा पनि सुदूरपश्चिमवासीको अवस्था फेरिन सकेको छैन। देशमा स्थानीय तहको दोस्रो निर्वाचन सकिएर प्रदेश र प्रतिनिधिसभाको तयारी भइरहेको छ। तर, आम नागरिकको अवस्था सुधार हुन सकेको छैन। व्यवस्था फेरिए पनि अवस्था उस्तै छ। 

यस्तो छ नाकाको व्यवस्थापन 
त्रिनगर–गौरीफन्टा नाका भएर अहिले दैनिकजसो एक हजार जनासम्म नेपाल फर्किरहेका छन्। महान चाड दसैंतिहार मनाउनका लागि सुदूरपश्चिमेलीहरु दैनिकजसो घर फर्किरहेका हुन्। उक्त नाका भएर घर फर्किनेको स्वास्थ्य परीक्षण हुने गरेको छ।

स्थानीय प्रशासन, स्थानीय तह लगायत अन्य संघ–संस्थाले सञ्चालन गरेको हेल्थ डेस्कमार्फत स्वास्थ्य परीक्षण हुने गरेको हो। हेल्थ डेस्कका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाका अनुसार नाकामा कोरोना परीक्षणसँगै खोप लगाउने कामसमेत भइरहेको छ। यस्तै मलेरिया र डेंगु परीक्षणसमेत नाकामै हुने गरेको छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस