सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आजदेखि गायत्री महायज्ञ सुरू हुँदै, १ करोड खर्च लाग्ने अनुमान

२०७९ असोज १०, ०६:५९ खबर संवाददाता

धनगढी: विश्व शान्ति र जनकल्याणका लागि आज घटस्थापनाको दिनदेखि महानवमीसम्म धनगढीको पटेलामा श्री गायत्री महायज्ञ सञ्चालन हुने भएको हो। 

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ वेली पटेलाको श्री ऋषिसकेश पीठ धार्मिक वनमा महायज्ञ आयोजना हुने श्री ऋषिकेश पीठ धर्म संरक्षण सम्बर्द्धन समसतिका सदस्य शिवानन्द स्वामी महाराजले बताए। ‘पटेलामा घटस्थापनाको दिनदेखि श्री गायत्री महायज्ञ सुरू हुने भएको छ,’ उनले भने, ‘विश्वशान्ती जनकल्याणका लागि महायज्ञ गर्न लागिएको हो।’

श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरीजीको परिकल्पनामा विश्व शान्ति र जनकल्याण हेतु महायज्ञ अनुष्ठान हुन लागेको आयोजक समितिले जनाएको छ। पटेला गोरखनाथले तपस्या गरेको भूमि भएकाले त्यो क्षेत्रलाई धार्मिक हिसाबले विकास गर्न खोजिएको शिवानन्द स्वामीले बताए।

९ दिनसम्म चल्ने महायज्ञमा १ करोड खर्च हुने अनुमान गरिएको छ। महायज्ञमा १ करोड पटक गायत्री महामन्त्र जप गर्दै हवन गरिने छ। ९ दिनसम्म ११५ व्राह्मणले नित्य हवन् तथा आरती गर्ने छन् भने कर्ताको रुपमा सहभागी हुने व्यक्तिले ३५ हजार शुल्क बुझाए महायज्ञमा यजमान हुन पाउनेछन्। यजमानहरुलाई खाने बस्ने र हवन् सामग्री उपलब्ध गराउने आयोजक समितिका कोषाध्यक्ष शिशिर हमालले बताए।

महायज्ञस्थल शिवगङ्गा र खुटिसया नदीको संगमस्थलमा रहेको छ। धार्मिक वनको रुपमा दर्ता भएको त्यो क्षेत्रमा वेद पाठशाला, गौशाला, यज्ञस्थल, साधना केन्द्र, विभिन्न मन्दिर निर्माण गर्ने दीर्घकालिन सोच रहेको श्री ऋषिकेश पीठ धर्म संरक्षण सम्बर्द्धन समितिका सल्लाहकार अरुणप्रसाद पनेरूले बताए। ‘यो क्षेत्रलाई हामीले धार्मिक अभ्यासको केन्द्रका रुपमा विकास गर्न चाहेका छौँ,’ उनले भने, यो ठाउँमा मन्दिर, यज्ञस्थल, साधना केन्द्र, गौशाला र वृद्धाश्रम स्थापना गर्ने सोच छ।’

सोमबार बिहान ८ बजे महायज्ञकाम लागि कलश यात्रा गरिने छ। हरेक दिन दिउँसो २ बजेदेखि हवन् गरिनेछ। असोज १८ गते महानवमीको दिन २ वजेबाट हवन्, उत्तराङ्ग हवन् र पूर्णाहुति हुनेछ। 

कमेन्ट लोड गर्नुस