बैतडीमा एक गाउँपालिकाले १ करोड ५० लाख रुपैंयाँमा भवन बनाउंदै
बैतडीको दुर्गम शिगास गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँको लागतमा आफ्नै भवन निर्माण गर्न सुरु गरेको छ। गाउँपालिकाको केन्द्र तोकेको ठाउँ वडा नं ८ गर्जेमा कुनै पनि सरकारी भवन नहुँदा गाउँपालिकाले भवन निर्माण गर्न लागेको हो। गाउँपालिकाले उपभोक्ता समिति मार्फत ७ महिना अगाडिदेखि अढाई तले भवन निर्माण कार्य गरिरहेको अध्यक्ष हरिसिंह धामीले जानकारी दिए। १२ कोठाको भवनसँगै एक सभा हलसमेत निर्माण गरिने भएको छ। आफ्नै भवन नहुँदा गाउँपालिकाले गर्जेमा कोठा भाडामा लिएर सेवा दिइरहेको छ। भवन निर्माण कार्यलाई तीव्र रुपमा अगाडि बढाइएकाले एक वर्षभित्रै सम्पन्न हुने गाउँपालिकाले जनाएको छ।