सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्झनामा गोविन्द गौतम

२०७५ फाल्गुन २६, ०९:३६

ज्यूँदै छन् वलभद्र, अम्मरहरू, ज्यूँदै छ हो वीरता।
केही काल कुचाल, मौन रहनू, मात्रै थियो धीरता।।
अत्याचार विरुद्धमा लडिरने, कल्याणकारी खुन।
मर्दैनन् सत आत्म बुझ्नु कहिलै, विस्तारवादी सुन १

ढुङ्गो हान्न पुग्यौ नि दुष्ट जन हो, अङ्(यालको गोलमा।
बिक्ने छैन कदापि आत्मबल यो, धम्की तथा मोलमा।।
काँडा बेबुर वा घँगारु, मसिना, हुन्छन् तिखा ध्यान होस्।
खुट्टामा अति पीर दुस्ख नदिई, निस्किन्न यो ज्ञान होस्।।

सानो देश भनेर हेप्नु कतिको, हो जायजी धारणा।
सानो सर्प ठुलो, छ क्रोधपनमा, फैलाउँदा त्यै फणा।।
थोरै शक्ति हुँदा अठोट रहँदा, लङ्का जिते रामले।
छाती खुल्छ र फुल्छ जाँगर अझैं, गोविन्दका नामले।।

सच्चा वीरहरू हिजो पनि लडे, यै देशका खातिर।
लड्छन् देश बचाउनै अझ सबै तोड्दै ठुला जञ्जिर।।
नाथे बन्दुक, पट्किनु हुटिङ हो, उत्साहमा ल्याउँछ।
गोली खानु अझै पियूष रणको, बद्लापना छाउँछ।।

गोर्खाली इतिहास सान भरने, नेपालका सज्जन।
हामीमा उपहास लास गरने पापी तथा दुर्जन।।
उठ्छन् लास फुटाउँछन् विथितिका, चण्णालका ज्याजति।
ए १ गुन्डा अब होसियार हरनू, बाँच्ने भए लौ बढी।।

गोली भारतले चलाउनु बडा, अन्यायका सुत्र हुन्।
माटोका हितमा घुटुक्क निलने, नेपालका पुत्र हुन्।
हामी गौरव गान गाउन सकौं, सम्मान अत्याधिक।
ठाडो शीर बनाउने सहिदमा, श्रद्धाञ्जली हार्दिक।।

कमेन्ट लोड गर्नुस