सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बाढी र डुबानले के–कति क्षति भयो ? 

२०७९ असोज ४, १२:२२ महेश वडू

धनगढी: कैलालीमा गत शुक्रबार रातिदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण ठूलै धनजनको ठूलो क्षति भएको छ। जिल्लामा वर्षाका कारण हजारौ घरधुरी प्रभावित र विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याङ्क हेर्दा जिल्लामा ११ हजार ३ सय ९४ घरधुरी प्रभावित भएका छन्। 

सबैभन्दा बढी क्षति भजनीमा 
बाढी तथा डुबानले जिल्लामा सबैभन्दा बढी क्षति भजनी नगरपालिकामा भएको छ। नगरपालिकामा बाढी तथा डुबानले ७ हजार ७६ घरपरिवार प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याङ्क अनुसार भजनीमा बाढी पहिरोमा परि २ जनाको मृत्यु भएको छ, भने ६६ जना घाइते भएका छन्। पालिकामा ३ हजार ३२ घरधुरी विस्थापित भएका छन्। भजनीमा वर्षाका कारण सबै वडाहरु डुबानमा परेका थिए। 

यस्तै भजनी नगरपालिका पछि जोशीपुर गाउँपालिका बाढी तथा डुबानबाट प्रभावित भएको छ। गाउँपालिकाको वडा नम्बर ३ मा मात्रै ३ हजार १८ घरधुरी प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुुसार जोशीपुरमा १ हजार २३६ परिवार विस्थापित भएका छन्। 

यसैगरी टीकापुर नगरपालिकामा बाढीले ७५५ घरपरिवार प्रभावित भएका छन् भने, ६१८ परिवार विस्थापित भएका छन्। सूचना अधिकारी जोशीका अनुसार टीकापुरमा बाढीमा परी १ जनाको मृत्यु भएको छ। बाढीले टीकापुर नगरपालिकाका ५, ६, ७, ८, ९ नम्बर वडा सबैभन्दा धेरै प्रभावित भएका थिए। 

यस्तै जानकी गाउँपालिकामा २ सय परिवार विस्थापित भएका छन्। यसैगरि कैलारीमा १७५, लम्कीमा १४५, गोदावरीमा १, धनगढीमा १४ घरपरीवार विस्थापित भएका छन् भने, १ जनाको मृत्यु भएको छ। 

यस्तै चुरेमा १ घर प्रभावित र १ जना घाइते तथा मोहोन्यालमा ९ घरपरिवार प्रभावित भएका छन्। जिल्लामा बाढी तथा डुबानमा परि २७६ पशुचौपाया मरेका छन्। अहिले डुबान भएका ठाउँमा पानी घट्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले बताएको छ।

महेश वडू दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस